नेपालका प्रितम र आयुष भारतीय रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’ का प्रमुख दावेदार

 बैशाख ८, २०७६ आइतबार १९:२:५९ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै- भारतमा आयोजना हुने गरेका विभिन्न रियालिटी शोहरुमा धेरे नेपालीहरु सहभागी हुने गरेका छन् । त्यस्ता धेरै उदाहरणहरु पनि छन्, जसले भारतीय प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका छन् । प्रशान्त तामाङ, तेरिया मगर, सुशान्त खत्री यसका उदाहरणहरु हुन् । 

अहिले फेरि नेपालका २ बालक आयुष केसी र प्रितम आचार्य चर्चामा छन् । भारतको चर्चित रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’ मा सहभागी हुन पुगेका केसी र आचार्यका हरेक प्रस्तुतिले शो का निर्णायकलाई चकित बनाउने गरेको छ । उनीहरु दुबैलाई उपाधिको मुख्य दाबेदारका रुपमा समेत हेर्ने गरिएको छ ।

केही समयअघि मात्र प्रितम आचार्यको अडिसन प्रस्तुति देखेर बलिउड सेलिब्रेटीहरुले सामाजिक सञ्जाल ट्विटरमा प्रितमको प्रशंसा गरेका थिए । बलिउडका चर्चित सेलिब्रटी सुनिल शेट्टी, रितेश देशमुख र अर्जुन कपूरको ट्वीट्मा प्रितम आचार्य छाइसकेका छन् । 

‘सारेगमप लिटल च्याम्प’ मा पाहुना बनेर आएका माधुरी दीक्षित, अनिल कपूर, अजय देवगन, ज्याकी श्रफ, आलिया भट्टजस्ता बलिउड स्टारले प्रितमको खुलेर प्रशंसा गरेका छन् । यो सिजनमा निर्णायकको भूमिका निभाइरहेका गायक शान, संगीत निर्देशक अमाल मल्लिक र चर्चित गायिका ऋचा शर्माले प्रितम र आयुषको गायकीलाई खुलेर समर्थन गर्दै आएका छन् । ग्राण्ड जुरीले पनि उनीहरुको अधिकांश प्रस्तुतिलाई शतप्रतिशत नम्बर दिने गरेको छ । 

गएको हप्ताको कार्यक्रममा उदितनारायण झा पाहुनाका रुपमा उपस्थित भएका थिए । प्रितमले झा ले नै गाएको ‘जादू तेरी नजर’ बोलको गीत गाएका थिए । प्रितमको प्रस्तुतिको देखेर झाले खुलेर प्रसंशा गरेका थिए । उनले प्रितमलाई आफैंसँग तुलना गर्दै बाल्यकालमा आफ्नो गायन कौशलसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया  दिए । 

अर्का नेपाली प्रतिस्पर्धी आयुष केसीले पनि दमदार प्रस्तुति दिए । उनले ‘कुछ कुछ होता है’ बोलको गीत गाएका थिए । केसीको प्रस्तुति पश्चात गायक झा ले आयुष र प्रितम दुबैलाई संकेत गर्दै भने, ‘दुवै मिलेर ब्यान्ड बजाउने भयौ जस्तो छ ।’

सिन्धुपाल्चोक घर भएका १२ वर्षीय आयुष केसी भक्तपुर बस्दै आएका छन् । यस्तै ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् । नेपालमा दुई वर्षअगाडि आयोजना भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’ मा आयुष प्रथम भएका थिए । 

सारेगमपले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत भिडियोबाट अडिसन लिएको थियो । सारेगमप लिटल च्याम्पमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । तर अडिसनमा २ जना मात्र छनौट हुन सफल भए ।

अन्तिम अपडेट: चैत १२, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया