एउटा व्यक्तिको जग्गा कागजात किर्ते गरी अर्कै व्यक्तिको नाममा बिक्री

 बैशाख ८, २०७६ आइतबार १८:१०:२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - मालपोत कार्यालय रामेछापका कर्मचारीको मिलोमतोमा एक व्यक्तिको जग्गा अर्कै व्यक्ति खडा गरी (किर्ते कागजात बनाई) बिक्री गरेको खुलासा भएको छ ।

जिल्लाको साविक राकाथुम गाविस (हाल खाँडादेवी गाउँपालिका वडा नं १- कोथवेका जग्गाधनी दिर्गबहादुर तामाङको १९ रोपनी १२ आना ३ पैसा जग्गा किर्ते कागज बनाएर दिर्गबहादुर तामाङ र दीर्घबहादुर तामाङ एकै हुन भनि दोश्रो व्यक्ति खडा गरि तेस्रो व्यक्ति भक्तपुर चाँगुनारायण नगरपालिका बस्ने उमेश थापालाई उक्त जग्गा १८ लाख रुपैयाँमा (थैली) कागज बनाई बिक्री गरिएको खुल्न आएको हो ।

धेरै मूल्यमा जग्गा खरिद गरेको कागज बनाउँदा पछि किर्ते गरी जग्गा बिक्री गरेको खुल्न आएमा धेरै मुल्य बुझाउनु पर्ने भएपछि थोरै मूल्य राखेर जग्गा पास गरिएको मालपोत कार्यालय श्रोतले जनाएको छ । 

२०३२ सालमा नापी नक्सा हुँदा दिर्गबहादुर तामाङ र बखानसिंह तामाङको नाममा संयुक्त रुपमा नापी नक्शा तथा फिल्डबुक तयार भई सोही बमोजिम दुवैजनाको नाममा बराबरी जग्गाधनी पूर्जा बनेको थियो । दिर्गबहादुर तामाङ र बखानसिंह तामाङ एकै नातासम्बन्धका व्यक्तिहरु हुन् ।

यसरी संयुक्त नाममा रहेको आफ्नो पिताको जग्गा अर्कै किर्ते कागज खडा गरी बिक्री गरेको भन्दै दिर्गबहादुरका छोरा हिराबहादुर तामाङले मालपोत कार्यालय र दीर्घबहादुर तामाङलाई विपक्षी वनाई रामेछाप जिल्ला अदालतमा किर्ते तथा जालसाजी मुद्धा दर्ता गराएका छन् । 

संयुक्त नाममा रहेको उक्त जग्गा हाल बखानसिंह तामाङको छोरा दीर्घबहादुर तामाङको नागरिकता राखी दिर्गबहादुर र दीर्घबहादुर भन्ने व्यक्ति एउटै हो भनि वास्तविक जग्गाधनी दिर्गबहादुरको हकहिस्सा समाप्त पार्ने काममा मालपोत कार्यालयका कर्मचारी र सम्वन्धित वडा अध्यक्षको समेत प्रत्यक्ष मिलेमतो रहेको देखिन्छ । पहिलेदेखि आफूले भोगचलन गर्दै आएको उक्त जग्गा अर्कैले भोगचलन गर्न थालेपछि मात्र दिर्गबहादुरको छोरा हिराबहादुरले जग्गाको विषयमा चासो राखेर खोजी गर्दा उनको उक्त जग्गा पहिला नै अर्कैको नाममा किर्ते कागज बनाई बिक्री गरेको जानकारी पाएपछि उनी अचम्ममा परेका थिए । 

सुरुमा जग्गा दर्ता हुँदा बखानसिंह तामाङका छोरा दीर्घबहादुर नाबालक थिए । उनको नाममा जग्गा दर्ता भएको छैन । अर्कोतिर फिल्डबुकमा उनको बाबु बाजे समेत उल्लेख गरिएको छैन भने सम्बन्धित व्यक्तिको दस्तखत समेत गराइएको छैन । मालपोत कार्यालयका कर्मचारीहरुले यसअघि उनीहरुको जग्गाधनी प्रमाणपुर्जामा उल्लेख नै नभएको बाबु बाजे समेत कायम गरी नाता सम्बन्ध कायम गराएर दिर्गबहादुरको जग्गा दीर्घबहादुरलाई सारिदिएका छन् ।

कुनै पनि व्यक्तिको नाता कायम गर्न जिल्ला अदालतले मात्रै गर्न सक्ने काम मालपोत कार्यालयका कर्मचारीहरुले नै गरिदिएका छन् । यसरी किर्ते नाता प्रमाणित गरी मालपोतका कर्मचारीहरुले दीर्घबहादुरको नाममा ल्याएको जग्गा उनले बिक्री वितरण गरेका छन् भने आफ्नो बाबु बखानसिंहको नाममा रहेको जग्गा बिक्रीवितरण गरेका छैनन् । 

 यसरी एउटा व्यक्तिको जग्गा अर्कै व्यक्तिको नाममा पास गरिदिन खाँडादेवी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका प्रमुख बद्री ढकाल र मालपोत कार्यालयका नायव सुब्वा दामोदर सुवेदीको समेत संलग्नता रहेको पीडित पक्षको आरोप छ । यसअघि वडा मुचुल्का तयार गर्न गाउँ नपुग्ने मालपोतका कर्मचारीहरु किर्ते कागज बनाउन गाउँमै पुगेका थिए । कागज गर्दा केही स्थानीयको नागरिकता नम्वर उल्लेख गरेर कागज बनाएको भए पनि कागजमा लेखिएको नागरिकता नम्बर भिडाउँदा कसैको नमिलेको जग्गाधनी हिराबहादुरले जानकारी दिए ।

उनले भने– मेरो बाबुको नामको जग्गा फिर्ता आएर मात्रै पुग्दैन, जग्गा विक्रीको लागि वडा कार्यालयवाट सिफारिस दिने व्यक्तिदेखि जग्गा विक्री गर्ने र जग्गा पास गराएर अर्कैको नाममा दिने र जग्गा खरिद गर्नेसम्मको व्यक्तिलाई हदैसम्मको कानुन अनुसारको कारबाही हुनुपर्छ । 

पत्रिकामा निकालेको सूचना नै गायब

कुनै व्यक्तिको जग्गाको अर्कैको नाममा नामसारी गरिदिन मालपोत कार्यालयले स्थानिय पत्रपत्रिकामा अनिवार्य सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । तर कार्यालयले उक्त जग्गाको सूचना निकालेको पत्रिका नै गायब बनाएर उक्त जग्गा पास गरिदिएको आरोप जग्गाधनीले लगाएका छन् । 

स्थानीय निकायले गलत कागज गरेकाले फस्यौं-मालपोत प्रमुख

एक व्यक्तिको जग्गा अर्कै व्यक्तिको नाममा गरिदिन स्थानिय निकायले सिफारिस दिएका कारण मालपोत कार्यालयले उक्त जग्गा अर्कै व्यक्तिको नाममा पास गरिदिंदा अहिले सिङ्गो कार्यालय नै फसेको मालपोत कार्यालय रामेछापका प्रमुख रघुनाथ फुयाँलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडादेखि तत्कालीन मालपोत प्रमुखको गलत कामले अहिले कार्यालयको काम नै दैनिक जिल्ला प्रशासन र जिल्ला अदालतलाई प्रतिउत्तर लाउनमै आफू व्यस्त हुनु परेको छ ।’ 

 कार्यालयबाट गल्ती भएको पनि उहाँले स्वीकार गर्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया