राजविराज विमानस्थलमा वैशाख २५ देखि पुनः विमान सेवा सञ्चालनमा आउने

 बैशाख १०, २०७६ मंगलबार १०:३८:३३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सञ्चालनमा आएको १० महिना नबित्दै ठप्प भएको राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने भएको छ ।

गएको चैत २० गतेदेखि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले नियमित सेवा बन्द गरेको थियो । श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको इन्जिन मर्मत गर्न विमान युरोप पठाइएकोले सेवा अवरुद्ध भएको बताउनुभयो ।

जहाज मर्मतको काम सकिनेबित्तिकै विमान सेवा सुरु गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । उहाँले वैशाख २५ गतेदेखि सातै दिन विमान सेवा सुचारु गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

राजविराजस्थित विमानस्थलमा विमान सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको वर्ष असार १० गतेदेखि नियमित विमान सेवा सुरु गरेको श्री एयरलायन्सले सुरुमा हप्ताको ५ दिन उडान भर्दै आएको थियो भने केही महिनामै प्राविधिक त्रुटि देखाउँदै हप्ताको ३ दिन मात्र उडान भर्न थालेको थियो । 

लामो समयपछि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले सेवा सुरु गरेपनि गएको चैत २० गतेदेखि विमान सेवा अवरुद्ध गरेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । अहिले सप्तरीका बासिन्दा विमान चढ्न विराटनगर र जनकपुर जान बाध्य छन् । 

यसअघि सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री स्व. रवीन्द्र अधिकारी, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहेका सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवसहित विशिष्ट व्यक्तित्वहरुको टोलीद्वारा गएको वर्ष जेठ १० गते नवनिर्मित कालोपत्र रनवेको उद्घाटन गरिएको थियो । 

नागरिक उड्डयन मन्त्रालायमार्फत ३० करोड ३० लाख रुपैयाँको लागतमा राजविराज विमानस्थल  निर्माण गरिएको थियो । यो क्रममा विमानस्थलको  ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो । विसं २०१६ सालमा तत्कालीन मन्त्री स्व. गणेशमान सिंहद्वारा राजविराज विमान स्थलको शिलान्यास गरिएको थियो  ।

 

अन्तिम अपडेट: चैत २६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया