विप्लव नेतृत्वको नेकपाका भातृ संगठन संयोजक रिहा

 बैशाख ११, २०७६ बुधबार १६:३१:३४ | सन्तोष थापा

पर्वत – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा हुनु भएको छ ।

राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । 

पर्वतको कुश्मा नगरपालिका ८ घर भएका परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीबाट १७ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो । ठूलीपोखरीलगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्यविरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा दर्ता गराएको थियो । 

जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजालसले उहाँलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया