उपभोक्ताको तीव्र गुनासोपछि कुश्मा बजारका औषधि पसलहरुमा अनुगमन

 बैशाख ११, २०७६ बुधबार २०:१५:१९ | सन्तोष थापा
unn.prixa.net

पर्वत - उपभोक्ताकाे गुनासो बढेपछि जिल्ला स्तरीय अनुगमन समितिले पर्वतको कुश्मा बजारभित्र सञ्चालन भएका औषधि पसल, मेडिकल तथा नीजि अस्पतालहरुको अनुगमन गरेको छ ।

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको नेतृत्वमा उद्योग व्यवसायी, सञ्चारकर्मी, उपभोक्ता अधिकारकर्मी लगायतको सहभागितामा अनुगमन भएको हो । 

अनुगमनका क्रममा विगतमा भन्दा पर्वत सदरमुकाम कुश्मा बजारभित्रको औषधि व्यवसाय सुधारोन्मुख देखिएको अनुगमन टोलीका सदस्य प्रभात लामिछानेले बताउनुभयो । पर्वतमा नयाँ सञ्चालनमा आएका कुश्मा हस्पिटल प्रालि र शान्तिदीप हस्पिटल प्रालिले नगरपालिकाबाट लिनुपर्ने प्रयोगशाला स्वीकृति नलिएको पाइएको थियो भने अनुगमन गरिएका १५ मेडिकल हल तथा हस्पिटलले अन्य व्यवसायिक कागजातहरु दुरुस्त राखेको पाइएको छ । 

अनुगमनकै क्रममा सुनगाभा फार्मेसीले चिकित्सकको अनुमतिमा नार्कोटेक ग्रुप अन्तरगतका औषधिहरु विक्रि वितरण गर्दै आएको बताएपनि उक्त तथ्याङ्क नराखेको समेत पाइएकाले अनुगमन टोलीले तत्काल रेकर्ड राख्न निर्देशन समेत दिएको छ । 

पर्वतमा सञ्चालित अधिकांश मेडिकल हल तथा फार्मेसीहरुले नार्कोटेक अन्तर्गतका औषधिहरु चिकित्सकहरुको अनुमति अनुसार विक्रि वितरण गर्दै आएका छन् । चिकित्सकको अनुमति विना र रेकर्ड नराखी औषधि बिक्री वितरण गरेको पाइएमा तत्काल कार्बाही गरिने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले कानुन विपरीत औषधि बिक्री वितरण नगर्न निर्देशन दिनुभएको थियो ।

केही औषधि पसलहरुमा औषधिमा तोकिएको मितिको समयावधि सकिनै लागेको भेटिएकाले औषधि व्यवसायीहरुलाई व्यवसायको संवेदशीलतालाई ध्यानमा राखेर बिक्री वितरण गर्न टोलीले निर्देशन समेत दिएको छ । कागजात नपुगेका व्यवसायीहरुलाई सात दिनको समया दिएर उपलब्ध गराउन निर्देशन दिइएको टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया