सगरमाथामा वर्षौंदेखि थन्किएका मानव शव यसरी हुँदैछ संकलन

 बैशाख १४, २०७६ शनिबार १३:५९:५७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च शिखर सगरमाथामा वर्षौंदेखि थन्किएका मानव शव ल्याउन अभियान थालिएको छ । पर्यटन विभागले स्थानीय तहसँगै निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथामा रहेका शव ल्याउन पहल शुरु गरेको हो । वैशाख १ गते लुक्लाबाट शुरु भएको सरसफाई अभियान सगरमाथा आधारशिविर हुँदै सगरमाथाको शिखरसम्म नै पुग्ने र सगरमाथामा भेटिएका शवहरु संकलन गरेर व्यवस्थापन गरिने पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो । 

बाटोमै देखिन्छन् शव 

सगरमाथा आरोहणका क्रममा बाटो आसपासमै शव देखिने सगरमाथा आरोहीहरु बताउँछन् । सगरमाथा क्षेत्रमा सन् २०११ देखि नै सरसफाई अभियान चलाएका सगरमाथा आरोही पिके शेर्पा भन्नुहुन्छ ‘बाटोमा पनि शव देखिन्छ, केही सडेर टुक्रा छन्, हिउँमा परेकाहरु सग्लै हुन्छन् ।’ उहाँ सहितको टोलीले सगरमाथाबाट पाँचवटा शव ल्याएर व्यवस्थापन गरिसकेको छ । धेरै पटक सगरमाथा चढेको रेकर्ड बनाएका कामीरिता शेर्पा पनि बाटोमा पुराना शव देखिने बताउनुहुन्छ । कतिपय अप्ठ्यारा ठाउँमा रहेका र कतिपय बाटो नजिक पनि देखिएको उहाँको भनाई छ । सगरमाथामा बाटो बनाउने क्रममा पुराना शवहरुलाई संकेतका रुपमा बुझेर बाटो बनाउने गरेको समेत संलग्नहरु बताउँछन् । 

हिउँ पग्लिएर देखिएका शव 

पछिल्ला वर्षहरुमा सगरमाथामा ज्यान गुमाउनेहरुको संख्या घटेको छ । तालिमप्राप्त आरोही तथा आरोहण सहयोगी, उपकरण, कपडा लगायतको व्यवस्थाका कारण ज्यान गुमाउनेहरुको संख्यामा कमी आएको आरोही कामीरिता शेर्पा बताउनुहुन्छ । अनि पछिल्ला वर्षहरुमा सगरमाथामा ज्यान गुमाउने धेरैजसोको शव ल्याउने गरिएको छ । धेरै वर्ष पहिले उपकरणको अभाव र उपकरणहरु अनुकूल नबन्दा शव ल्याउन नसकेको र उतै छाडेको आरोहीहरु बताउँछन् ।

तिनै पुराना शव सगरमाथाको हिउँ पग्लिएर सतहमा आएको आरोहीहरुको भनाई छ । आरोही पीके शेर्पा पछिल्लो दशकमा सगरमाथामा हिउँको मात्रा निकै घटेको र हिउँ पग्लिने क्रम निकै तीव्र बनेको बताउनुहुन्छ । हिउँ जोगाउँ अभियानका साथ सातवटै महादेशका अग्ला चुचुरा चढ्ने अभियानमा १४ वर्षीय छोरालाई समेत लिएर अभियान शुरु गर्नुभएका पीके शेर्पा हिउँ पग्लिएकै कारण हिउँले थिचिएका पुराना शव सतहमा देखिन थालेको बताउनुहुन्छ । 

शव देख्दा डर लाग्छ 

त्यसै पनि सगरमाथा आरोहण चुनौतीपूर्ण छ । त्यहाँ एक सेकेण्ड पछि के हुन्छ भन्ने अनुमानै गर्न नसकिने आरोही पीके शेर्पा बताउनुहुन्छ । यही चुनौती मोलेर आरोहण गरिरहेकाहरु बाटोमा मानिसको शव देखेपछि झस्किन्छन् । आरोही कामीरिता शेर्पा भन्नुहुन्छ ‘आखिर मानिस त हो डर लागिहाल्छ नि मोटरसाईकल दुर्घटना देख्दा अब म चढ्दिन भन्ने लागेजस्तै सगरमाथामा पनि शव देखेपछि माथि जान मनमा डर उत्पन्न हुनु स्वभाविक हो’, आरोहण व्यवसाय सञ्चालन गरिरहेकाहरु सगरमाथामा सतहमा देखिएका शवलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् । त्यहाँका शव जसरी पनि व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाई छ । 

शव झिक्न समस्या र महँगो दुबै  

हिउँमा मानिस मरेपछि चिसोले निकै गह्रुगो हुने शव संकलनमा सहभागी भएकाहरु बताउँछन् । एउटा शव झिक्न तालिमप्राप्त मानिस र उपकरण दुवै चाहिने र चुनौतीपूर्ण हुने भएकोले महँगो हुन्छ । एउटा शव झिक्न शव रहेको स्थानको प्रकृति हेरेर ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे बताउनुहुन्छ । यही कारण धेरै शव खर्च अभावका पनि उतै रोकिन्छन् ।

अर्को कुरा मौसमले पनि साथ दिंदैन । आरोहण चलिरहेकै बेला मौसममा खराबी हुन सक्छ त्यसैले चुनौती मोलेर जान सकिंदैन । अनि कतिपय शवहरु हिउँमा पुरिन्छन् वा खोंचमा खसेर हराउँछन् । अहिले देखिएका धेरैजसो पुरा शव हिउँमा पुरिएको र अहिले हिउँ पग्लिएर सतहमा आएको आरोहीहरु बताउँछन् । यहि कारण सगरमाथाबाट शव ल्याउन सकिदैन र उतै थन्किन्छन् । 

धार्मिक कारण 

हिन्दू र बौद्ध धर्मावलम्बीहरुले हिमाललाई देवता वा देव धाम मान्छन् । त्यसैले हिमालमा मरेको मान्छेले उतै बस्दा मोक्ष पाउने वा आत्माले शान्ति पाउने मान्यताका कारण शव ल्याईंदैन । कतिपय आरोहीले आरोहणमा जाने बेलैमा मरेमा शव नल्याउनु भनेका हुने र कतिपयका आफन्तले उतै छाड्न इच्छा गर्ने भएको कारण पनि केही शव उतै थन्किएका पर्यटन विभागका महानिर्देशक घिमिरे बताउनुहुनुन्छ । 

कति छन् त शव ? 

पर्यटन विभागका अनुसार सन् १९५३ मा सगरमाथाको सफल आरोहण पछिका ६६ वर्षमा कुल ४८०० जनाले सगरमाथाको शिखर चुमेका छन् । यस्तै सगरमाथामा अहिलेसम्म २ सय ७९ जनाले ज्यान गुमाएको पर्यटन विभागको तथ्याङ्क छ । ज्यान गुमाएका २ सय ७९ जनामध्ये धेरैजसोको शव ल्याएको पर्यटन विभागको दाबी भए पनि यकिन तथ्याङ्क छैन । पुराना आरोहीहरु भने झण्डै एक तिहाई शव सगरमाथा क्षेत्रमै थन्किएको हुन सक्ने दाबी गर्छन । 

यसपटक भेटेसम्म ल्याइन्छ  

यसपटक भने सगरमाथामा विशेष रुपमा शवको खोजी गर्ने र भेटेजति सबै ल्याएर व्यवस्थापन गर्ने पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरे बताउनुहुन्छ । दक्ष आरोहीहरुलाई खटाइएको र खर्चको कुनै अभाव नभएकोले मौसमले साथ दिएसम्म शव ल्याउने उहाँको भनाई छ । तर यस पटक सगरमाथामा औषतभन्दा बढी हिउँ रहेकोले शव नभेटिन सक्ने पनि घिमिरेको चिन्ता छ । ‘मौसम, हिउँको मात्रा सबै कुराले साथ दिनुपर्छ साथ दिएमा धेरै भन्दा धेरै शव ल्याउँछौं’, घिमिरेले भन्नुभयो । 

कसरी हुन्छ त व्यवस्थापन ? 

सगरमाथाबाट शव सग्लो वा टुक्रा जे भए पनि संकलन गरेर ल्याएपछि शवको पोष्टमार्टम तथा डीएनए परीक्षण गरिन्छ । शव पहिचान भए पनि आफन्तले जिम्मा लिएका आफन्तलाई हस्तान्तरण गर्ने र जिम्मा नलिए वा पहिचान हुन नसकेमा मुचुल्का बनाएर कानुनी प्रक्रिया पूरा गरी दाहसंस्कार गर्ने पर्यटन विभागका महानिर्देशक घिमिरेले बताउनुभयो ।  

सगरमाथामा शव सतहमा देखिएपछि चिन्ता बढ्दै गएको बेला पर्यटन विभागले स्थानीय तहलगायत निजी क्षेत्रसँग समन्वय गरेर शव संकलन गर्ने अभियान चलाएकोलाई पर्यटन व्यवसायीहरुले महत्वका साथ हेरेका छन् ।

हिमालमै शव रहँदा अन्तराष्ट्रिय स्तरमा समेत नराम्रो सन्देश गैरहेको बेला यो काम महत्वपूर्ण भएको आरोही तथा आरोहण व्यवसाय सञ्चालन गर्नेहरु बताउँछन् ।

सगरमाथाकै उत्तरी मोहडा अर्थात चीनतिरको बाटोमा रहेका पुराना शव अहिले चिनियाँ पक्षले संकलन गरेर व्यवस्थापन गरिरहेको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया