नगरपालिकाको मनपरी असुली, आफैले बनाएको नियम मिचेर पार्किङ शुल्क उठाउँदै

 बैशाख २२, २०७६ आइतबार ७:१४:५९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा- उदयपुरको कटारी नगरपालिकाले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लामा आवतजावत गर्ने चार चक्के सवारी साधनबाट आफैले बनाएको ऐन मिचेर मनोमानी ढङ्गबाट पार्किङ शुल्क उठाउँदै आएको छ । नगरपालिकाले सिद्धिचरण र मध्यपहाडी लोकमार्ग हुँदै गुड्ने सबै सवारी साधनलाई पार्किङ शुल्क लिने गरेको छ ।  

कटारी नगरपालिकाको आर्थिक ऐन २०७५ को धारा ११ मा नगरपालिका क्षेत्रभित्र पार्किङ सुविधा उपलब्ध गराए मात्रै पार्किङ शुल्क लिइने व्यवस्था गरिएको छ । तर आफैले बनाएको ऐन मिचेर नगरपालिकाले पार्किङ सुविधा उपलब्ध नगराइ मनोमानी ढङ्गले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाबाट आवतजावत गर्ने सवारी साधनसँग पार्किङ शुल्क असुल गरिरहेको हाे । 

नगरपालिकाले कटारी बजार, घुर्मी बजारलगायतका ४ ठाउँमा ढाट राखेर प्रत्येक पटक ४० रुपैयाँका दरले शुल्क असुल्न थालेपछि सिद्धिचरण र मध्यपहाडी लोकमार्गमा गुड्ने सयौं सवारीसाधन मारमा परेका छन् ।

सवारी चालक रामकुमार तामाङले सवारी साधन नरोके पनि पार्किङ शुल्क दैनिकरुपमा लिएर सवारी धनी ठग्ने काम भइरहेको गुनासो गर्नुभयो । कटारी नगरपालिका १४ घुर्मीमा राजधानी जाने सवारी जम्मा पाँच मिनेट मात्रै गुड्छन् । पाँच मिनेट गुडेको दैनिक ४० रुपैयाँ तिर्नु पर्दा सवारी चालक मर्कामा परेका छन् । 

कटारी नगरपालिका क्षेत्रको सडक प्रयोग गरेकै भरमा पार्किङ शुल्क उठाइएको विषयमा विरोध आइरहे पनि नगरपालिकाले भने टेरेको छैन । नगरपालिकाले गत साउनमा पार्किङ शुल्क उठाउनकै लागि २५ लाख रुपैयाँमा क्रिस्टल क्लासिक प्रालिलाई ठेक्का लगाएको थियो । ठेकेदारले पार्किङ शुल्क उठाउनका लागि साना बालबालिकालाई काममा लगाइरहेको छ । पार्किङ शुल्कको विषयमा गुनासो र विरोध भइरहे पनि स्थानीय प्रहरी नै पार्किङ शुल्क किन उठाइएको हो भन्ने विषयमा अन्योल छ ।

शुल्क किन र कसरी उठाइएको हो भन्ने विषयमा जानकारी नभए पनि गुनासाहरु भने आइरहेको प्रहरी पोष्ट घुर्मीका पहलमान कार्कीले बताउनुभयो । मनोमानीरुपमा उठाइँदै आएको पार्किङ शुल्कको विषयमा भने कटारी नगरपालिकाले ठेकेदारलाई दोष दिएर आफू पन्छिँदै आएको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया