पाँच सय मान्छेलाई नयाँ जीवन दिने अरुण

 बैशाख २२, २०७६ आइतबार १०:१७:४८ | दीपा तिमल्सिना
unn.prixa.net

भूकम्प गएको चार वर्ष भयो । तर यसले दिएको चोट र दुःख सायदै कमैले भुलेका होलान् । भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिएका सबैलाई बचाउन नसके पनि धेरै घाइतेको उद्दार भयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको भूमिका सह्रानीय रह्यो । 

अरु नागरिक पनि यसैगरी आआफ्नो तर्फबाट उद्दारको काम जुटे । यस्तै मध्येमा पर्नुहुन्छ, भक्तपुरका अरुण सैंजू । उहाँलाई बर्दी बिनाको प्रहरी भनेर पनि चिनिन्छ । हुन त हामी सबै जना बर्दी बिनाकै प्रहरी हौँ । तर यो भूमिका भने कमैले मात्र निर्वाह गरेका हुन्छन् । 

भूकम्प गएको दिन २०७२ साल वैशाख १२ गते सैंजू भक्तपुर अस्पताल भर्ना हुनु भएको थियो, कारण उच्च ज्वरो । उपचारमा खटिएका डाक्टर आफ्नै साथी भएकाले ज्वरोले शरीर गलाए पनि मन गलाएको थिएन । 

उहाँ आफ्नो उपचारमा जुटेका आफ्ना डाक्टर साथीसँग बात मार्दै हुनुहुन्थ्यो । एक्कासी अस्पताल हल्लियो । तर न उहाँ डराउनुभयो न डाक्टर, न अस्पतालका अरु स्वास्थ्यकर्मी र कर्मचारी । भूकम्प प्रतिरोधी भवन भएकाले भूकम्पलाई कसैले त्यति वास्ता गरेनन् । तर भूकम्प गएको केही क्षणमा जब अस्पताल घाइते र शवले भरिन थाल्यो, सबैको सातो गयो । 

हुँदाहुँदै ठाउँ अभावमा अस्पताल बाहिर पनि शव राख्नु पर्ने अवस्था आयो । यति उच्च ज्वरोका बिरामी सैंजूलाई ज्वरोले भन्दा पनि विपत्तीले हतास बनायो । ‘एकतमास भयो, कान टुईंय गरेर कराउन थाल्यो’ उहाँ सम्झनुहुन्छ, ‘यस्तो भयावह अवस्था आउला भनेर सोचेकै थिईनँ । पुरै सिनेमा हेरैजस्तो लाग्यो ।’ 

कोही रोइरहेका थिए त कोही चिच्याइरहेका । वेदना र शोक आ–आफ्नै थिए । तीन  हप्ता अस्पतालमा नै बित्यो । तीन हप्तामा तीन दशकभन्दा लामो अनुभव भयो । विपदमा यतिसम्म कोही नैतिकताबिहीन हुँदा रहेछन् भन्ने उहाँले पाठ सिक्नुभयो । अस्पतालमा घाइतेको उपचारसँगै ज्यान गुमाएकाको शव राखिएको थियो । 

तर कुविचारले भरिएका केही मानिसलाई विपद् आफ्नो घैटों भर्ने सजिलो बाटो बन्यो । शव कुरेर बसेका उहाँलाई शवमाथिको गरगहना जोगाउन हम्मेहम्मे पर्यो । विभिन्न बहाना बनाएर शव नजिक आउने र गरगहना, पैसा चोर्नेहरु त्यतिबेला खुबै सक्रिय भए । सैंजू सम्झनुहुन्छ, ‘शवसम्म आएर चोरेर त लगे, यतिसम्मकी दोबाटोमा भूत भन्दै तर्साएर पनि त्यतिबेला गरगहना चोरी भयो ।’ 

रातमा अस्पताल परिसरमा राखिएको शव रुंग्ने र दिउँसोमा घाइतेको उद्दार गर्ने । तीन हप्तासम्म सैंजूको दिनरात यसैगरी बित्यो । त्यस पछि अस्पतालको बास छोडेर उहाँ भूकम्प प्रभावित अरु ठाउँमा घाइतेको उद्दारमा जुट्नुभयो ।

भूकम्पअघि उद्दार र तालिममा बढी समय बिताएका सैंजूको भूकम्पपछि भने भग्नावशेषमा पुरिएकाको खोजीमै दिन बित्यो । ‘जीवित व्यक्तिलाई मात्रै होइन हामीले शवकाे पनि उद्दार गर्यौं । कति दिनदेखि पुरिएर बसेको शव निकाल्नु चानचुने कुरा होइन’ सैंजू भन्नुहुन्छ, ‘शवको हात समाएर तान्दा हात मात्रै, खुट्टा तान्दा खुट्टा मात्रै छुट्टिएर आएको घटना पनि छन् ।’

५ सय भन्दा धेरैले पाए नयाँ जीवन, आत्महत्याको प्रयास गरेका सात जनाको उद्दार

भूकम्पमा मात्रै होइन अरुण सैंजू अन्य विपद्मा पनि उद्दारमा जुट्नुहुन्छ । आगलागी, हावाहुरी, बाढी पहिरो र आत्महत्याको प्रयास गर्नेलाई उद्दार गरी सम्झाई बुझाई गर्नु उहाँ आफ्नो कर्तव्य र धर्म मान्नुहुन्छ । 

मानसिक तनाव र यातनाले नै मानिसले आत्महत्या गर्छ भन्ने अनुभव अरुण सैंजूको छ । घरेलु हिंसा, लागू पदार्थको दुर्व्यसन र असफलता, आत्महत्याका कारण हुन् । आत्महत्याको प्रयास गरेका सात जनालाई उहाँले उद्दार गर्नुभयो । 

उद्दार भएका सात जनामध्ये अहिले कोही पढ्दैछन्, कोही घरजम गरेर बसेका छन् । उनीहरुको हाँसीखुशी जीवन देख्दा सैंजू नि दंग पर्नुहुन्छ । 

आत्महत्या गर्न तम्सिएकाहरुलाई मात्रै होइन, बाढीपहिरो र डुबान भएका क्षेत्रमा पनि उद्दारका लागि सैंजू पुग्नुहुन्छ । उद्दारमा खटिएको सात वर्षमा ५ सय जना भन्दाधेरैले नयाँ जीवन पाएका छन् ।

बक्सिङ खेल्ने सैंजू यसरी जुटे उद्दारमा

आफ्नो जिल्ला भक्तपुरमा हुने र हुन लागेका काम तथा अभियानमा निकै सक्रिय अरुण सैंजूलाई केही पर्यो भने साथीभाइ र वरपरका मानिसले बोलाइहाल्थे । डुबान प्रभावितको उद्दारमा  होस् या सरसफाई अभियान, सबैमा उतिकै सक्रिय हुनुभयो । 

आजभन्दा झण्डै आठ वर्षअघि । डुल्दै गर्दा भक्तपुरको दरबार स्क्वायर नजिकको पोखरीमा उहाँले मानिसको भीड देख्नुभयो । नजिकै गएर बुझ्दा थाहा भयो, बालिका पोखरीमा डुबेकी रहिछिन् । पोखरीमा हराएकी ११ वर्षकी अञ्जली नेपालीको खोजी गर्न पोखरीमा हाम फाल्ने कोही भएन । पौडी खेल्न नआए पनि सैंजू पोखरीमा पस्नुभयो । तर पानी छदाउने र सास दिने विधि थाहा नहुँदा अञ्जलीलाई बचाउन सकिएन ।

आँखै अगाडि बालिकाको ज्यान गएपछि अरुण सैंजूले उद्दारमा जुट्ने प्रण गर्नुभयो । आफ्नो सानो प्रयासले कसैलाई बचाउन सकिन्छ कि भन्ने सोच हाबी भयो । 

३१ वर्षका अरुण सैंजूलाई यसअघि उद्दारकर्ता बन्छु भन्ने नै थिएन । सानैमा आमाको न्यानो माया र काख गुमाउनुभयो । अलि अलि बुझ्ने हुँदादेखि नै उहाँ होस्टलमा बस्नुभयो । बुवा खुवाउने औँसीमा मात्रै बुवासँग भेट हुन्थ्यो । अरु दिन आमा बुवा, घर परिवार साथीभाइ जे  भने पनि त्यहि होस्टल नै हुन्थ्यो । १७ वर्ष बित्यो, होस्टलमै ।

पढाई राम्रो थियो । रुची पनि भएकाले खेलकुद झनै राम्रो । उहाँले बक्सिङ खेल्न थाल्नुभयो, अहिले पनि खेल्नुहुन्छ । आफ्नो रुची र पढाईका लागि बुवाको योगदान सजिलो सूत्र जस्तै भइदियो । छोराकै लागि बुवाले अर्को विवाह गर्नु भएन । 

सरल स्वाभावका युवा अरुण सैंजुलाई भक्तपुरमा ‘आरएनए १६’ का नामले चिन्छन् ।  उद्दार र सचेतना (रेस्क्यू एण्ड अवारनेस) को लागिरहेकाले उहाँलाई ‘आरएनए १६’ (भूकम्प, पहिरो, आगो, डुबान तथा बाढी, गाडी दुर्घटना, चट्याङ, जंगली जनावरको आक्रमण, सुख्खा, हावाहुरी, शितलहर, खोजतलास तथा उद्दार, राहत, सुरक्षा नक्सांकन, आत्मसुरक्षा, महामारी र उपयोगी कला तथा उद्दार ।)  भन्न थालिएको हो । 

माथिका सबै विपत्तिमा सहायोग र उद्दारका लागि अरुण सैंजू दौडनुहुन्छ । उद्दारमा सजिलो होस् भनेर उहाँले सूचना सञ्चार तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर वाकीट्वाकी पनि लिनु भएको छ ।

दक्ष र तालिम प्राप्त सैंजूले कति बेला उद्दारमा दौडनु पर्ने हो भनेर आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राख्नु हुन्छ । विपदका बेलामा आत्तिनुको साटो धैर्य गर्न सैंजूको सुझाव पनि छ ।  

प्राकृतिक विपद्मा मनले भन्दा मष्तिस्कले एकछिन सोचेर काम गरे आफूसँगै अरुलाई पनि बचाउन सकिने सैंजू बताउनु हुन्छ । 

उद्दारमा नखटिएको समयमा सैंजू विद्यालय तथा विभिन्न क्लब र आमा समूहलाई तालिम दिन पुग्नुहुन्छ । विभिन्न सम्मान तथा पुरस्कार पाएका सैंजू गएकाे वर्ष राष्ट्रको साहसिक एवं वीरतापूर्ण विधामा उत्कृष्ट युवा पुरस्कारबाट पनि सम्मानित हुनुभयो । 

अन्तिम अपडेट: मंसिर ६, २०७६

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया