अध्ययन–अनुसन्धानको केन्द्र बन्दै लमजुङको पर्यटन संग्रहालय (तस्बिरसहित)

 बैशाख २८, २०७६ शनिबार १७:७:३८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पर्यटकीय गाउँ लमजुङको घलेगाउँको बीच भागमा छ, सार्क भिलेज पर्यटन संग्रहालय । याे संग्रहालय प्राकृतिक तथा सांस्कृतिक रुपमा भरिपूर्ण घलेगाउँको मुख्य आकर्षणको रुपमा रहेको छ  ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), साविक उत्तरकन्या गाविस, तत्कालिन जिविस र स्थानीयको सक्रियतामा झण्डै १२ लाखभन्दा बढिको लागतमा घलेगाउँमा पर्यटन संग्रहालय बनाइएको हो । क्वहोलासोँथार गाउँपालिका–३, घलेगाउँमा रहेको यस संग्रहालयको २०७३ साल माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । 

पर्यटकको रोजाइमा संग्रहालय

सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित घलेगाउँ अहिले ‘स्मार्ट भिलेज’को रुपमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्दै अघि बढिरहेको छ । गाउँमा दिनहुँ सर्यौँ आन्तरिक तथा बाह्य पर्यटक पुगिरहन्छन् । घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ पर्यटन संग्रहालय । 

घलेगाउँ पुग्ने पर्यटकहरु पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालायित’ हुन्छन् । घलेगाउँ आउने पर्यटकको पहिलो रोजाई नै पर्यटन संग्रहालय बनेको पर्यटन व्यवस्थापन, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विक बताउनुहुन्छ ।

‘गाउँसम्म आउने सबै पर्यटकको मुख्य रोजाइ नै पर्यटन संग्रहालय बन्नपुगेको छ । संग्रहालयमा पुगेर फोटो खिच्ने/खिचाउनेको भीड नै लाग्ने गर्दछ,’ उहाँले भन्नुभयो, ‘संग्रहालयमा आउने पर्यटकमध्ये १५-२० प्रतिशत पर्यटक अध्ययन–अनुसन्धान कै लागि आउने गरेको पाएका छौँ ।’

हराउँदो गुरुङ सँस्कृति संरक्षणका लागि संग्रहालय

हराउँदो गुरुङ सँस्कृति संरक्षणका साथै पर्यटक तान्नका लागि संग्रहालय बनाइएको क्वहोलासोँथर गाउँपालिकाका अध्यक्ष एवम् पर्यटन व्यवस्थापन, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले बताउनुहुन्छ ।

पर्यटन संग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मृत्युसम्मका कार्यमा आवश्यक पर्ने सामग्रीका साथै दैनिक जीवनमा प्रयोग हुने औजारहरु साथै हस्तकलाका सामग्री बुन्न प्रयोग हुने सामाग्रीहरु राखिएका छन् ।

संग्रहालयमा तमू भेषभूषा, लत्ताकपडा, हस्तकलाका सामग्री, बाँसको चोयाबाट निर्मित वस्तुहरु, ऊनबाट निर्मित राडीपाखी लगायतका सामाग्री राखिएको घलेगाउँ सञ्चालन समितिका अध्यक्ष गंगा घले बताउनुहुन्छ ।

बिदाको दिन पर्यटकको घुइँचो   

संगहालयमा सार्वजनिक बिदाको दिन पर्यटकको घुइँचो लाग्ने गरेकाे पर्यटन व्यवस्थापन, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताउनुहुन्छ ।
उहाँका अनुसार संग्रहालय अवलोकनका लागि नेपाली पर्यटकले २५ रुपैयाँ र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्छ ।

‘संकलित रकम संग्रहालयकै व्यवस्थापन माखर्च हुँदै आएको छ,’ उहाँले भन्नुभयो ।

घलेगाउँमाआएर पर्यटन संग्रहालयको अवलोकन गर्न पाउँदा खुशी महसुस भएकाे आन्तरिक पर्यटकहरुकाे भनाइ छ । संग्रहालयमा आएर पुराना महत्वपूर्ण चीजहरु हेर्न पाउँदा खुशी लाग्ने तथा संग्रहालय अध्ययन–अनुसन्धान गर्नेहरुको लागि पनि महत्वपूर्ण हुन सक्ने उनीहरुकाे भनाइ छ । 

१ सय २० घरधुरी रहेको घलेगाउँमा अहिले ३४ घरले घरमा होमस्टे सञ्चालित छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया