बलात्कारका आरोपित वडासदस्य प्रहरी नियन्त्रणमा

 बैशाख ३१, २०७६ मंगलबार १७:३७:५८ | शिव ढुंगाना

ओखलढुंगा – बलात्कारको आरोपमा फरार रहेका लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई प्रहरी कार्यालयमा आउँदै गर्दा प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको छ ।

बलात्कारको आरोपमा ०७५ चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएपछि सम्पर्कविहीन रहेका श्रेष्ठलाई परिवारका सदस्यले प्रहरी कार्यालय ल्याउँदै गर्दा प्रहरीले बाटोबाटै मंगलबार नियन्त्रणमा लिएको हो । 

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गतेदेखि नै मोबाइल बन्द गरेर सम्पर्कविहीन भएका थिए । उनलाई परिवारका सदस्यले उजुरीबारे प्रहरी कार्यालयमा छलफल गराउन ओखलढुंगा ल्याउँदै गर्दा बाटोबाटै फक्राउ गरेर हिरासतमा राखिएको छ ।  

श्रेष्ठमाथि आफ्नै इँटाभट्टामा काम गर्ने १८ वर्षीया कामदारलाई बलात्कार गरेको आरोप छ । आफूलाई श्रेष्ठले चैत ७ गते बलात्कार गरेको भन्दै ती युवतीले जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ८ गते उजुरी दिएपछि प्रहरीले खोजी गर्दै आएको थियो । 

आरोपितका छोरा राजु श्रेष्ठले आरोप लागेपछि लामो समयसम्म सम्पर्कविहीन रहेका बुबालाई भेटाएपछि मुद्दाका बारेमा छलफल गराउन जिल्ला लैजाँदा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएर पक्राउ गरेको हल्ला चलाएको आरोप लगाउनुभयो । 

आरोप झूटाे भएकाले सबैलाई राखेर छलफल गराउन प्रहरी कार्यालयमै लैजाँदै गर्दा आफ्नो काम देखाउन प्रहरीले नाटक गरेको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर राजीव श्रेष्ठले भने परिवारको आरोप खण्डन गर्दै फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया