सगरमाथा आरोहण : आधार शिविरमा उत्साह र हुटहुटी !

 जेठ १, २०७६ बुधबार १५:४०:४१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – यस यामको सगरमाथा आरोहण मंगलबारबाट सुरु भएको छ । मंगलबार सगरमाथा आरोहणका लागि बाटो बनाउने शेर्पाहरुको ८ सदस्यीय टोली शिखरमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो । 

बुधबार कामीरिता शेर्पाले सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी कायम गर्नुभएको छ । २३ पटक सगरमाथा आरोहण गरेर शेर्पाले यसअघि आफ्नै नाममा रहेको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमानी तोड्नुभएको हो । आरोहणका लागि सगरमाथाको मौसमअनुकुल भएसँगै आरोहीहरु सगरमाथा आधार शिविरबाट उकालो लागेका छन् । 

आरोहण सुरु भएसँगै सगरमाथाको आधार शिविरभन्दा माथि आरोहीहरुको भिड बढेको छ । एकैपटक माथि जाँदा बाटोमा ट्राफिक जाम हुने भएकोले आरोहणको व्यवस्थापन गर्ने कम्पनीहरुसँग समन्वय गरेर आरोही पठाउने काम भैरहेको आधार शिविरमा रहनु भएका पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताउनुभयो ।

मे २९ भित्रमा सगरमाथा चढिसक्नुपर्ने र त्यसमा पनि अब बढीमा एक हप्ताको मौसममात्र अनुकुल रहने भएकोले अबको एक हप्ता आरोहणका भिड नै लाग्छ । 

अहिले सगरमाथा आधार शिविर शहरजस्तै बनेको छ । दोश्रो तथा तेश्रो शिविरमा पनि आवातजावत निकै बढेको आरोहण गर्नको लागि आधार शिविरमा रहनुभएका निमाडोमा शेर्पाले बताउनुभयो ।

आधार शिविरमा रहेका आरोही विजय घिमिरे आधार शिविरदेिख तेश्रो शिविरसम्म गरेर झण्डै दुई हजार मानिस रहेको बताउनुहुन्छ । आरोहीहरु शरीरलाई समअनुकुल बनाउन तलमाथि  हिँड्नुको साथै मौसम अनुकुलताको पर्खाइ गरिरहेका छन् ।  

नेपालमा सगरमाथाको दक्षिण मोहडापट्टि ५,३८० मिटरको उचाइमा आधार शिविर छ । यस वर्ष सगरमाथा आरोहणका लागि ३७९ जना आरोहीहरु आधार शिविरमा पुगेका छन् ।

पर्यटन विभागको तथ्याङ्कअनुसार ३६ वटा समूहमा ३६६ जना विदेशी र ६ वटा समूहमा १३ जना नेपालीले आरोहण अनुमति लिएर आधार शिविर गएका छन् । ल्होत्से हिमाल आरोहणका लागि ९८ जना, नुप्त्सेका ३७ जना आरोहीसहित आरोहीका सहयोगी, भान्छेलगायत गरेर झण्डै दुई हजार मानिस आधार शिविरमा रहेका छन् । 

दुई हप्ताअघि बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधी फणीको प्रभावका कारण सगरमाथा क्षेत्रमा केही तनाव सिर्जना भएको थियो । आधार शिविरभन्दा माथि रहेका आरोहीहरु आधार शिविर झरे भने हावाहुरीका कारण झण्डै एक सय पाल उडाएको थियो । अहिले भने मौसम अनुकल रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताउनुभयो । 

सन् १९५३ मा पहिलो पटक सगरमाथाको शिखरमा मानव पाइला पुगेको थियो । त्यसपछि अहिलेसम्म झण्डै ४ हजार ८ सय मानिस सगरमाथाको शिखरमा पुगेका छन् । 

यतिबेला सगरमाथाको आधार शिविर र त्यसभन्दा माथि आरोहीहरुको बजार र लर्को लागेको छ भने कतिबेला शिखर चुम्न पाइन्छ भनेर आरोहीहरु प्रतिक्षामा रहेका छन् । 

-सगरमाथा आरोहणसम्बन्धी तस्बिरहरु आधार शिविरमा रहनु भएका ल्हाक्पा नुर्वु शेर्पा, निमा डोमा शेर्पा र आङ छिरिङ लामाको अनुमतिबाट उहाँहरुकाे फेसबुक पेजबाट लिइएको हो । 

अन्तिम अपडेट: चैत ७, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया