मेक्सिकोमा पहिलो पटक वामपन्थी राष्ट्रपति

 असार १८, २०७५ सोमबार १८:५०:१७ | एजेन्सी
unn.prixa.net

मेक्सिकोको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको छ । आइतबार भएको राष्ट्रपतिको चुनावमा वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् । जितपछि लोपेजले मेक्सिकोमा ठूलो परिवर्तन देखा पर्ने दावी गरेका छन् । 

मेक्सिकोमा सन् १९२९ देखि प्रत्येक ६ वर्षमा राष्ट्रपतिको चुनाव हुँदै आएको छ । तर अहिलेसम्म प्रमुख दल नेसनल एक्सन पार्टी(पीएएन) तथा इन्स्टिट्यूसनल रेभोल्यूसनरी पार्टी (पीआरआई) ले सत्ता चलाइरहेको छ ।

सन् १९२९ देखि २००० सम्म पीआरआईका उम्मेदवार राष्ट्रपति निर्वाचित भए । सन् २००० देखि २०१२ सम्म पीएएनले सत्ता सम्हाल्यो । २०१२ को चुनावमा पुनः पीआरआईमा सत्तामा फिर्ता भयो । 

मेक्सिकोको राजनीतिमा दुई दलको यस्तो दबदबा भए पनि लोपेज यी दुवै दलसँग आवद्ध छैनन् । मेक्सिकन नागरिकले पहिलो पल्ट यी दुई दलभन्दा बाहिरका नेतालाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । 

मेक्सिको सिटीका पूर्व मेयरसमेत रहेका एम्लो नामले लोकप्रिय रहेका ६३ वर्षीय लोपेजले ५३ प्रतिशत मत प्राप्त गरेका छन् । उनले डिसेम्बर १ मा राष्ट्रपति पदको सपथ लिनेछन् । 

लोपेजले आफ्नो चुनावी अभियानमा भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाएका थिए । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि खुलेर आलोचना गर्थे । जे भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत लोपेजलाई जितको बधाई दिएका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘आन्द्रेु म्यानुएललोपेज ओब्राडोर मेक्सिकोको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई छ । अमेरिका तथा मेक्सिकोको हितका लागि धेरै गर्न आवश्यक छ ।’

के हुन्छ परिवर्तन ?

लोपेजका विरोधी तथा आलोचकले उनको वामपन्थी नीतिका कारण पहिलेदेखि नै कमजोर रहेको मेक्सिकन अर्थव्यवस्था अझ जर्जर हुने बताएका थिए । कतिपयले त मेक्सिको अब भेनेजुएला जस्तो बन्ने समेत भनेका थिए । 

तर राष्ट्रपतिमा विजयी भएपछि लोपेजले भ्रष्टाचार निमूल पार्ने आफ्नो वाचा पूरा गरेरै छाड्ने बताएका छन् । भ्रष्टाचार गर्ने जोसुकैलाई नछाड्ने लोपेजले स्पष्ट पारेका छन् । 

गएको वर्षदेखि मेक्सिकोमा थुप्रै हिंसात्मक घटनाहरु घटेका छन् । यसमा धेरै लागुपदार्थको कारोबार गर्नेहरु रहेका छन् । लोपेजले चुनावी अभियानमा आफूले जितेमा यसबारेमा मन्त्रिपरिषदको बैठकमा दिनहुँ छलफल गर्ने र कडा कदम चाल्ने बताएका थिए । यस पटक चुनाव प्रचार–प्रसारकै क्रममा पनि मेक्सिकोमा हिंसात्मक घटना घटेका थिए । जसमा एक सय ३० भन्दा धेरै राजनीतिक उम्मेदवार तथा कार्यकर्ताको ज्यान गएको थियो । 

चुनावका बेला अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध खनिएका लोपेज जितपछि भने सम्बन्ध सुधारका लागि पहल गर्ने बताएका छन् । 

मेक्सिकोमा राष्ट्रपतिका अलावा कंग्रेसको एक सय २८ सिनेटर तथा ५ सय प्रतिनिधिको पनि चुनाव भएको थियो । यी सबै राज्य तथा स्थानीय राजनीतिका हिस्सेदार बन्नेछन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया