‘मृत’ महिला फ्रिजभित्र जिउँदै भेटिइन्

 असार १८, २०७५ सोमबार २०:५२:४४ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकमा मृत भनिएकी एक जना महिला जिउँदै भेटिएकी छिन् । 

सडक दुर्घटनामा घाइते भएकी एक जना दक्षिण अफ्रिकी महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले ती फ्रिजभित्र राखिएकी ती महिला जिउँदै रहेको पत्ता लगाएका थिए । बीबीसीका अनुसार ती महिलाको अहिले जोहानेसबर्गको एउटा अस्पतालमा उपचार भैरहेको छ । उनको नाम भने खुलाइएको छैन । 

महिलाका परिवार घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अधिकारीहरुसँग माग गरेका छन् । २४ जुनमा भएको कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो । परिवारले यसमा चिकित्सकको लापरबाही भएको बताएका छन् । 

यस्तो घटना पहिलो पटक भने भएको होइन । पटक–पटक जिउँदै रहेका मानिसलाई मृत घोषणा गरेका घटना सार्वजनिक भैरहेका छन् । दक्षिण अफ्रिकामै सात वर्षअघि मृत घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन शवगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो ।

त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घटनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया