भीमफेदीको महाभिर सडक सञ्जालमा जोडिँदै, हट्ने भयाे हेटौँडा घुमेर गाउँपालिका जानुपर्ने बाध्यता

 जेठ ५, २०७६ आइतबार २०:२९:१२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - भीमफेदी गाउँपालिका-८, महाभिरमा मोटर बाटो निर्माण कार्य सुरु भएको छ ।

भीमफेदी गाउँपालिकाको कोगटे, महाभिर, धार्के हुँदै फास्टट्रयाक भएर निस्कने सडक निर्माण गर्न लागिएको हो । 

चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँको लगानीमा सडक निर्माण सुरु गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । गाउँपालिकाबाट महाभिर पुग्नका लागि १४ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा सडकको ट्रयाक निर्माण गरेर आउँदो आर्थिक वर्षबाट निरन्तर लगानी गरेर हिउँद र वर्षायाममा नै सडकमा गाडी गुडाउने योजना रहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । 

गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँका रुपमा परिचित महाभिरका बासिन्दालाई कुनै कामका लागि गाउँपालिका आउनुपर्दा चार घण्टा पैदल हिँड्नुपर्छ । त्यही समस्या समाधान गर्न सडक निर्माण गर्न सुरु गरिएको अध्यक्ष लामा बताउनुहुन्छ । सडक निर्माण सुरु भएपछि स्थानीय बासिन्दाहरु निकै खुशी भएका छन् । 

साविक इपा गाविसको पाँच वटा वडालाई जोड्ने गरी सडक निर्माण गर्न लागिएको हो । साविकको इपा गाविस-१, गङ्गटेका बासिन्दाको पीडा सुनेर साध्य छैन । 
यहाँका बासिन्दाहरु गाउँपालिका आउन कान्ति लोकपथ भएर पहिले हेटौँडा आउनुपर्छ अनि मात्र भीमफेदी गाउँपालिका जानुपर्ने बाध्यता रहेको छ । सडक निर्माण भएपछि दुई घण्टामै गाउँपालिका पुग्न सकिन्छ । 

गाउँपालिका जाने सडक निर्माण नभएकै कारण यहाँका गाउँमा बिजुलीका तार तानिउ पनि  ट्रान्समिटर बोकेर लैजान सकिएको छैन । सडक निर्माण भएपछि यस क्षेत्रका सयौँ परिवार लाभान्वित हुनेछन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया