अब युवाहरु सडकमा झण्डा बोक्दै टायर बाल्न जानु पर्दैन

 जेठ ५, २०७६ आइतबार १७:३६:१ | रामप्रसाद सापकाेटा ‘दीपशिखा’
unn.prixa.net

पार्टी एकीकरण भएपछि एक वर्षको निष्कृय राजनीतिक जीवन सहज भएन । जिम्मेवारी र सकृयता विहीनताको अवस्थामा एक वर्ष बित्यो । पार्टीले एकताको काम कहिले टुग्याउँछ भनेर प्रतिक्षा गर्दै बित्यो एक वर्ष । मिनेटकै किन नहोस्, प्रतिक्षाको घडी चाहिँ निकै लामो हुन्छ भने झै यो एउटा हिसाबले प्रतिक्षा थियो । त्यसकारण एक वर्ष कष्टपूर्ण पनि रह्यो । 

खासगरी पार्टी एकता अगाडि तत्कालीन एमाले र माओवादी केन्द्रले पूरा गर्नुपर्ने एकताका शर्तहरु पूरा नगरी हतारमा एकता गरिएको थियो । पार्टीको सिद्धान्त के हुने ? विचार के हुने ? केन्द्रीय सदस्य संख्या कति रहने, संगठनात्मक एकता प्रकृया के हुने भन्ने कुराहरु टुंगो नलगाइ केन्द्रमा एकता गरिएको थियो । 

त्यस अर्थमा एकता प्रकृयाले वर्ष दिन लिनु अस्वभाविक होइन । किनभने एकताका आधारभूत काम गर्न त बाँकी नै थिए । घोषणा बाहेक केही पनि भएको थिएन । 

अनि अर्को कुरा, यदि यो सबै कुरा मिलाएर मात्रै एकता गर्ने भनिएको भए पनि पार्टी एकता संभव थिएन । किनभने त्यो बेला पदीय भागबण्डा, जिम्मेवारी बाँडफाँड, विचार राजनीतिका कुरा र अन्य थुप्रै कुराहरुमा अल्झन लागेको भए पार्टी एकता हुनुको सट्टा झनै बिथोलिने काम हुनसक्थ्यो । 

एक वर्षपछि आएर एकताको काम टुंग्याइँदै गर्दा त केही तिक्तता छन् भने त्यति नै बेला यो सबै सम्भव हुने कुरा नै भएन ।  

पहिलेको युवा संघ र वाईसीएल जस्तो हुँदैन

फरक लयमा रहेका दुईवटा संगठनलाई अब एउटै बनाएर लैजानु पर्ने जिम्मेवारी छ । यसमा अवसर र चुनौती दुवै उत्तिकै छ । दुईवटा संगठनले विगतमा जे राम्रा काम गरेका थिए तिनलाई अंगिकार गर्दै अबको नयाँ परिवेश अनुसार निर्माण भएको संगठनले त्यसलाई अघि बढाउँछ ।  

यो संगठन न त पहिलेको वाईसीएल जस्तो हुन्छ न त पहिलेको युवासंघ जस्तो नै । यो त अब विशुद्ध रुपमा सकारात्मक कामका लागि अघि बढ्छ । राज्य निर्माणका लागि अघि बढ्छ ।

विगतमा राजनीतिक जागरण ल्याउनका लागि, राजनीतिक परिवर्तनका लागि संगठनले काम गरेको थियो । तर अब राजनीतिक परिवर्तन हामीले ल्याइसकेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । अब संघीयता कार्यान्वयनलाई स्थायित्व दिने भन्नेमा हामी लाग्नुपर्छ ।  

बिहीबार एकताको घोषणा भइसकेपछि एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनले संयोजक र सहसंयोजक बल्ल पाएको छ । अझै पनि विधान छैन, झण्डा छैन, कमिटी छैन । संयोजक र सहसंयोजक मात्र बल्ल मिलेको हो ।

तर अब हामीले निरन्तर रुपमा यो कमिटीलाई अबको एक महिनामा नै पूर्णता दिनेगरी जिल्ला जिल्लामा अधिवेशन सक्नेगरी अघि बढ्नेछौँ । 

अब निर्माण तर्फ  

अबको केही समय संगठन मिलानका लागि समय खर्च हुन्छ । संघले पूर्णता पाएसँगै यसको हरेक क्रियाकलाप देश निर्माणका निमित्त हुनेछ ।  

अब युवाहरु सडकमा टायर बाल्न जाने, सडकमा रातो टिसर्ट लगाएर मार्चपास गर्ने, सडकमा झण्डा बोकेर दौडने दिन गए । सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल नारालाई सार्थकता तुल्याउने गरी संगठनले तमाम युवालाई निर्माण कार्यमा जोड्ने अभियान चलाउने छ ।  

सरकारले अघि सारेको विकास निर्माणका योजनामा काम गर्ने जिम्मा देओस् । सरकारले बस्ने-खाने व्यवस्था गरिदेओस्, श्रम गर्ने र परिश्रम गर्ने काम संगठनले गर्छ । युवाहरुले गर्नेछन् ।  

तर यो भन्दै गर्दा निर्माणको ठेक्का दिइयोस भनेको होइन । सरकारले स्वयंसेवा केन्द्र स्थापना गरोस त्यो माध्यमबाट युवाले देशका लागि केही ‘कन्ट्रिब्युट’ गर्ने मौका पाओस । त्यसका लागि संगठनले सरकारसँग आह्वान गर्छ ।

अबको संगठनकाे उद्धेश्य पनि यही हो । अहिले त राज्यका लागि आफूले जानेका सीप प्रयोग गर्छु भन्दा पनि पाउने अवस्थामा छैन । यदि सरकारले स्वयंसेवा केन्द्र स्थापना गरिदिने हो भने त केही वर्षमा लाखौँ लाख युवाले आफूले जानेका सीप ‘कन्ट्रिब्युट’ गर्नेछन् । 

सरकारले छिट्टै राष्ट्रिय स्वंयसेवा केन्द्र स्थापना गरोस्, अनि त्यसको विधि प्रकृया बनाओस् र देशका लागि आफ्नो सीप अनुसार के गर्न चाहन्छौ भनेर आह्वान गरोस् । अनि स्वंयसेवा गरेबापत उसको योगदानको मूल्यांकन होस् । यो सबैका लागि नीति बनाउन सरकारलाई अब संगठनले झकझकाउँछ । यति भइदियो भने मात्रै पनि देश निर्माणको चरणमा अघि बढ्छ । 

त्यसैले अब संगठन यस्तै रचनात्मक काम गर्न अग्रसर हुन्छ र अबका दिनमा गर्छ । सरकार र नागरिकका बीचमा भर्‍याङ बनेर संगठनले कार्य सञ्चालन गर्ने छ । 

सरकारले काम गर्न सकेन 

अहिले सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको छैन । यसको अर्थ सरकारले काम गरेको छैन भन्ने होइन । केही नीतिगत समस्याका कारण, केही विभिन्न समस्याका कारण अपेक्षा अनुरुप काम हुन नसकेको हो । धेरै जसो नीति निर्माणको काम सकिएको छ ।

अब बल्ल काम गर्ने चरणमा सरकार पनि पुगेको छ । तीब्र विकास होस्, आर्थिक सूचकांक माथि पुगोस भन्ने चाहना सबैको हो । तर यो भनेर मात्रै हुने होइन । त्यसका लागि आवश्यक नीति निर्माणदेखि हरेक प्रकृयाहरु पूरा गर्नु जरुरी छ ।

अब नीति निर्माणको चरण पार गरेर देश निर्माणको चरणमा हामी सबै प्रवेश गरिसकेका छौँ । अब भनेको देश निर्माण हो । यसको विकल्प छैन ।

सरकार पनि त्यसतर्फ केन्द्रित हुन्छ र हामी आफैँ पनि त्यसका लागि अघि बढ्ने जमर्कोमा छौँ । यसरी अघि बढ्यौँ भने आगामी दिनमा देशले समृद्धिको छलाङ मार्नेछ । 

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे जनवर्गीय संगठन युवा  संगठनका संयाेजक सापकाेटासँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: कात्तिक २५, २०७६

रामप्रसाद सापकाेटा ‘दीपशिखा’

सापकाेटा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे जनवर्गीय संगठन युवा संघका संयाेजक हुनुहुन्छ ।

1 Comments

  • Hari krishna shrestha

    May 19, 2019, 7:28 p.m.

    Good ..I want to involve.

  •  0 Reply

तपाईको प्रतिक्रिया