सवारी दुर्घटना : चालकको लापरबाही प्रमुख कारण, दुई पाङ्ग्रे सवारी साधन अति जोखिम

‘दुई पाङ्ग्रे सवारीलाई धेरै हतार हुन्छ’

 जेठ ७, २०७६ मंगलबार ९:५७:६ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७५/०७६ मा देशभर भएको ११ हजार दुई सय २५ सवारी दुर्घटनामा एक सय ९२ जनाले ज्यान गुमाए । बाँकी दुई हजार ३३ जना गम्भीर घाइते भए भने चार हजार दुई सय ९७ जना सामान्य घाइते भए । 

प्रहरीको तथ्यांक अनुसार, यो संख्या गएको वर्षको भन्दा कम हो । आर्थिक वर्ष २०७४/०७५ देशभर भएको ११ हजार पाँच सय ७ सवारी दुर्घटनामा एक सय ९४ जनाले ज्यान गुमाएका थिए । यो संख्या केही कम भए पनि यसलाई सन्तोषजनक मान्न नसकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले बताउनुभयो । 

चालकको लापरबाही प्रमुख कारण

प्रवक्ता सापकाेटाका अनुसार, सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही नै हो । ‘तीव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन अनुशासन पालना नगर्नेलगायतका चालककै लापरबाहीले धेरैजसो सवारी दुर्घटना हुने गरेको छ,’ उहाँले भन्नुभयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार, अर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै पाँच हजार छ सय तीन सवारी दुर्घटना चालकको लापरबाहीले गर्दा भएको छ । 

त्यसैगरी तीव्र गतिका कारण तीन सय ३३, मादक पदार्थ सेवनका कारण दुई सय २३ जथाभाबी ओभरटेकका कारण ५३, यान्त्रिक गडबडीका कारण ४४ र सडकको अवस्थाका कारण २३ जनाले ज्यान गुमाएका छन् । 

दुई पाङ्ग्रे सवारी साधन धेरै दुर्घटना

सवारी साधन दुर्घटनामा दुई पाङ्ग्रे सवारी साधनको संलग्नता धेरै देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भएका सवारी दुर्घटना मध्ये सबैभन्दा धेरै चार हजार ८८ दुर्घटनामा मोटारसाइकल र स्कुटरको संलग्नता रहेको छ ।

दोस्रो नम्बरमा तीन हजार नौ सय १३ दुर्घटनाका साथ कार, भ्यान, र जीप रहेका छन् । त्यसैगरी बसका कारण एक हजार चार सय ३५, ट्रक र टिपरको कारण एक हजार तीन सय एक, माईक्रोबसका कारण तीन सय एक, टेम्पो र ट्याक्टरका कारण ९४ वटा दुर्घटना भएका छन् । 

ज्यान गुमाउने पक्षमा पनि दुई पाङ्ग्रे नै बढी

आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनाका कारण ज्यान गुमाउने पक्षमा सबैभन्दा अघि दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटर रहेका छन् । मोटारसाइकल र स्कुटरमा सवार ९० जनाले ज्यान गुमाउँदा पैदल यात्रु ७० र कारमा सवार ११ जनाले ज्यान गुमाएका छन् । 

एक महिलाले ज्यान गुमाउँदा चार जना पुरुषले ज्यान गुमाए

आर्थिक वर्ष २०७५/०७६ मा भएका सवारी दुर्घटनामा परेर ज्यान गुमाउने एक सय ९२ जनामा ३८ जना महिला र बाँकी पुरुष रहेका छन् । यो तुलनात्मक मात्रामा असुन्तलित देखिन्छ । तथ्यांक हेर्दा सवारी दुर्घटनामा परेर एक जना महिलाको ज्यान जाँदा चार जना पुरुषको ज्यान जाने गरेको छ । 

सवारी दुर्घटना गराउनेमा पनि दुई पाङ्ग्रे सबैभन्दा अघि

आर्थिक वर्ष २०७५/०७६ मा मोटरसाइकल र स्कुटरका कारण ८१ जनाले ज्यान गुमाए । गएको वर्षको तुलनामा यो संख्या १३ ले बढी हो । त्यसैगरी बसका कारण २४, जीपका कारण २१, टिपरका कारण १७ र ट्रकका कारण १७ जनाले ज्यान गुमाए । 

धेरै सवारी दुर्घटना दिउँसो १२ बजेदेखि साँझ छ बजेको समयमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा दिउँसो १२ बजेदेखि साँझ छ बजेको समयमा धेरै सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा यो समयमा दुई हजार पाँच सय ९६ वटा दुर्घटना भए । 

त्यसैगरी बिहान छ बजेदेखि दिउँसो १२ बजेको समयमा एक हजार नौ सय २२ वटा दुर्घटना भए । साँझ छ बजेदेखि राति १२ बजेको समयमा १ हजार चार सय ७९ वटा दुर्घटना भयो । सबैभन्दा कम दुई सय ८५ वटा दुर्घटना राति १२ बजेदेखि बिहान छ बजेको समयमा भएको छ । 

लेन र अनुशान मेरै लागि हो भन्ने चेतनाको विकास हुनुपर्छः प्रवक्ता सापकोटा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले सवारी साधन दुुर्घटना कम गर्न यात्रु स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार, सवारी चालक र सडकमा यात्रा गर्नेले लेन र अनुशासनलाई नमिच्ने हो भने पनि सडक दुर्घटना स्वतः कम हुन्छ । ‘एकैछिनको हतारले लेन र अनुशासनलाई नमान्दा दुर्घटना हुन्छ र त्यो महंगो साबित हुन्छ,’ उहाँले भन्नुभयो ।

‘दुई पाङ्ग्रे सवारीलाई धेरै हतार हुन्छ’

आर्थिक वर्ष २०७५/०७६ को तथ्यांक हेर्दा पनि दुई पाङ्ग्रे सवारी साधन धेरै दुर्घटना भएका छन् । लेन र अनुशासन मिच्ने, धेरै हतारमा देखिने, अस्वस्थ प्रतिस्पर्धा गरेर चलाउनेलगायतका कारणले नै दुई पाङ्ग्रे सवारी साधन धेरै दुर्घटना हुने गरेको प्रवक्ता सापकोटाको भनाइ छ । 

‘जामलाई थिचोल्न र भिड छल्न दुई पाङ्ग्रे सवारी साधन चाहिन्छ भन्ने मान्यतालाई सदाका लागि हटाउनुपर्छ,’ उहाँ भन्नुहुन्छ ।  
  

अन्तिम अपडेट: चैत १४, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया