‘मेरो सास कहिले निभ्छ थाहा छैन, सरकार परिवारलाई बचाइदेउ’

 जेठ ६, २०७६ सोमबार १३:१२:८ | सन्जिता देवकोटा

मोरङ – पथरीको किराँत चोक । चोकभन्दा अलि तल छ शान्ता बिकको घर । आँगमा बसेर घाम ताप्दै हुनुहुन्छ, शमशेरबहादुर बिक । अनि घाम तापिरहेका श्रीमानलाई हेर्दै टोलाइरहनुभएको छ, शान्ता । 

दुई दिनअघि डाइलायसिस गरेर ल्याएपछि शान्तालाई केही दिनका लागि ढुक्क भएको छ । शमशेर घाममा निस्केर बस्न सक्ने हुनुभएको छ । तर शमशेरलाई ठमठमी हिँड्ने मन छ ।

दुवै मृगौला काम नलाग्ने भएपछि साउदीबाट फर्किएका शमशेरलाई फेरि तन्दुरुस्त हुन पाए के के न गरौंला भन्ने छ । तर त्यसका लागि एउटा मृगौला चाहिएको छ । 
‘मेरो एउटा मृगौला दिन्छु भनेको मिलेन, पत्थरी देखियो, अब कसले देला उहाँलाई मृगौला,’ श्रीमती शान्ताको अनुहारमा छटपटी झल्किन्छ । श्रीमानलाई बचाउन एउटा मृगौला चाहिएको छ । शमशेरका दाजुभाइमध्ये कसैले मृगौला दिन्छन् कि भन्ने आश छ शान्तालाई । 

शमशेरको अनुहार पुरै धुम्मिएको छ । आफ्नो ज्यानको भन्दा पनि उहाँलाई बालबच्चा र छोराछोरीको चिन्ता बढी छ । ‘मलाई केही भयो भने यिनीहरुले के गर्लान्, बिजोग हुन्छ,’ दुवै मृगौलाले काम गर्न छाडेको शमशेरको शरीरलाई यही चिन्ताले थिचेको छ । 

साउदीले खायो शमशेरको दुवै मृगौला

‘बालबच्चा राम्रोसँग बढाउँला, पढाउँला, दुई चारपैसा भविष्यका लागि बचाउँला ।’ यही सपना थियो शमशेरको । २०७० सालमा साउदी गएका शमशेर होटलमा काम गर्नुहुन्थ्यो । मासिक १२ सय रियालसम्म हुन्थ्यो कमाइ । 

घरमा दुई छोरा बढ्दै थिए । शमशेरले साउदी टेकेदेखि घर उहाँकै कमाइले चलेको थियो । ज्यान सद्दे छँदासम्म त महिना मरेपछि तलब आइहाल्थ्यो । चलेकै थियो । पाँच वर्ष बिते यसैगरी । साउदीमा बितेका वर्षसँगै कहिले दुवै मृगौलाले साथ छाड्यो शम्शेरलाई पत्तै भएन । 

‘अचानक आँखाहरु धमिलो देखें, अनुहार पनि सुन्निएको थियो,’ शमशेरले त्यो दिन सम्झनुभयो, ‘अस्पताल जाँदा त दुवै मृगौला काम नलाग्ने भइसकेको रहेछ ।’ 

डाक्टरले तत्काल डायलायसिस गर्न भने । खुट्टाबाट गरेको डायलायसिस सफल भएन । पीडा भने असह्य भयो । त्यो बेला त शमशेरलाई बाँच्छु जस्तो नै लागेन । खुट्टाबाट डायलायसिस सफल नभएपछि छातीबाट गरियो । 

पाँच वर्ष साउदीमा बस्दा शमशेरलाई बिरामी परेर अस्पताल जानु परेको थिएन । ‘म त्यस्तो बिरामी त कहिल्यै पनि भइनँ, तर  ‘प्रेसर हाइ’ थियो मेरो,’ शम्शेर सुनाउनुहुन्छ, ‘त्यही भएर एक पटक औषधि खाएको थिएँ, त्यति नै हो ।’

जे नहुनु पर्ने त्यो भैसकेपछि के गर्नु र ! डाक्टरले जतिसक्दो चाँडो मृगौला ट्रान्सप्लान्ट गर्न सुझाव दिए ।

‘आठ पटक डायलायसिस गरियो, अब नहुने भएपछि के गर्ने, मैले सोचें – मरे पनि आफ्नै ठाउँमा मर्छु, त्यसपछि म्यानेजरलाई जसरी पनि घर पठाइदिनुस् भनें,’ शम्शेर सुनाउनुहुन्छ । 

शमशेरले साउदीमा पाँच वर्ष पसिना बगाउनुभयो । पाँच वर्ष पसिना चुहाएको मूल्य घर चलाउँदैमा ठिक्क भयो । शमशेरले साँचेका सपना पूरा भएनन् । उहाँ २०७४५ पुसमा थलिएको शरीर लिएर घर फर्किनुभयो । 

अस्पतालमा रिपोर्ट देखेपछि मात्र बिरामी भएको थाहा पाएँ

शमशेरले श्रीमती शान्तालाई आफूलाई लिन विमानस्थल बोलाउनुभयो । तर आफ्नो अवस्थाको बारेमा भने भन्नुभएको थिएन । ‘अब बिरामी छु भन्दा के के सोच्छन् घरमा, चिन्ता हुन्छ, त्यसैले मैले आफूलाई भएको रोगको बारेमा भनेको थिइनँ,’ शम्शेर भन्नुहुन्छ ।

शान्ता विमानस्थल पुग्नुभयो । रोगले गालेको कुरा अनुहार हेरेर अड्कल गर्न सक्नुभयो । तर के भयो भनेर सोध्दा शमशेरले भन्नुभएन । जवाफ एउटै थियो, ‘सामान्य बिमार हो, निको भैहाल्छ ।’

‘भोलिपल्ट टिचिङ लगेर गएँ, रिपोर्ट लुकाउनुभएको रहेछ, बल्ल त्यतिबेला पो थाहा पाएँ त दुवै मृगौला काम नलाग्ने भएका कुरा ’ शान्ता भन्नुहुन्छ । 

साउदीमै आठ पटक डायलायसिस गरिसकेकाले जतिसक्दो छिटो मृगौला फेर्न डाक्टरको सुझाव छ । तर कसरी फेर्ने ? कसले दिन्छ मृगौला ? यसको पत्तो शान्तालाई पनि छैन । 

बेस भएन विदेश

३१ वर्ष लागेकी शान्ताको १७ वर्षअघि शमशेरसँग बिहे भयो । शमशेर सुनारको काम गर्नुहुन्थ्यो । एक जनाको कमाइले जसोतसो दुई जनालाई पुग्थ्यो । दुई छोरा जन्मिए । खर्च बढ्यो । 

गाउँघरमा कमाउन भनेपछि विदेश नै जाने परम्परा  जस्तै थियो । शम्शेरले पनि कोशिस गर्नुभयो । एजेन्टले झण्डै डेढ लाख रुपैयाँ लागत लाग्ने कुरा सुनाएपछि भने शमशेरको विदेशमा कमाउने सपना एक पटकका लागि सकियो । 

एजेन्टले महिला विदेश जाँदा भने थोरै पैसा लाग्ने आश्वासन दिए । श्रीमान् जाँदा भन्दा लागत कम लाग्ने भएपछि ८० हजार रुपैयाँ बुझाएर शान्ता आफै २०६५ सालमा साउदी उड्नुभयो ।  दुई छोरा र घर व्यवहार शमशेरले सम्हाल्नुभयो ।

‘खेतीपाती केही छैन हाम्रो, नकमाए त घरमा पनि चुलो बल्दैन,’ शान्ता दुई छोरा छाडेर परदेश जानु पर्ने बाध्यता सुनाउनुहुन्छ । घरेलु काममा साउदी पुगेकी शान्ताले सोचेजस्तो कमाउन सक्नुभएन । दुःखजेलो तीन वर्ष बिताएर फर्किनुभयो । 

शान्ता नकमाइ फर्किएपछि कमाएर फर्किने आश बोकेर शमशेर आफै लाग्नुभएको थियो साउदी । तर सधैं सोचेजस्तो कहाँ हुन्छ र ! शम्शेरलाई झन आपत आइलाग्यो । 

‘मेरो हातमा सुन बनाउने सीप थियो, यही त्यही काम गरेर बसेको भए पनि हुने रहेछ,’ शमशेर पछुतो मान्दै भन्नुहुन्छ, ‘यस्तो हुन्छ भन्ने के थाहा र ? नत्र ज्यानभन्दा ठूलो धन त कसलाई हुन्थ्यो र !’

बिराटनगरको नोबल हस्पिटलमा शमशेरले डायलायसिस गराइरहनुभएको छ । ‘कसैले मृगौला दिएनन् भने मेरो सास कहिले निभ्छ थाहा छैन, तर म बाँच्न चाहन्छु, यदि मलाई केही भयो भने पनि सरकार मेरो परिवार चाहिँ बचाइदेउ !’

अन्तिम अपडेट: जेठ १४, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया