सलार्हीका उखु किसानले तीन वर्षदेखि उखुको भुक्तानी मूल्य पाएनन्

 जेठ ६, २०७६ सोमबार १७:५९:२८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - उखु बिक्री गरेको तीन वर्ष बितिसक्दा पनि पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले उखु खरिद गरेबापतको रकम भुक्तानी नदिएको उखु किसानले गुनासो गरेका छन् ।

चिनी उद्याेगले उखु बिक्री गरेको तीन वर्षसम्म पनि उखुको भुक्तानी नगर्दा घर खर्च टार्न समस्या परेको मानपुरका किसान रामअवदेश रायले गुनासो गर्नुभयो । 

अन्नपूर्ण सुगर मिलले किसानको तीन वर्षदेखि १२ करोड ५० लाख रुपैयाँ र यस क्रसिङ सिजनको ३७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा सोमबार भएको त्रिपक्षीय छलफलमा उद्याेगले गएको आर्थिक वर्षको १२ करोड रुपैयाँ असार मसान्तसम्ममा किसानलाई भुक्तानी गर्ने र बाँकी ३७ करोड रुपैयाँ असोज मसान्तसम्ममा भुक्तानी गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिनुभयो । 

धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल र बगदहमा रहेको महालक्ष्मी सुगर मिलले सरकारले निर्धारण गरेको मूल्यभन्दा प्रति क्विन्टल ३६ रुपैयाँ कम मूल्यमा किसानसँग उखु खरिद गरेका थिए । अन्नपूर्ण सुगर मिलले यस क्रसिङ सिजनमा नौ लाख ५६ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । 

सरकारले यस आर्थिक वर्षका लागि उखुको मूल्य सरकारी अनुदान सहित प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । मूल्य निर्धारण समिति तथा विभिन्न किसान सम्बद्ध संगठनसँग भएको सहमति अनुसार, किसानले उखु बिक्री गरेको एक महिनाभित्रमा उद्याेगले भुक्तानी दिनुपर्ने त्रिपक्षीय सहमति भएको किसान अगुवा कमल बुढाथोकीले बताउनुभयो । 

त्यसैगरी बगदहको महालक्ष्मी सुगर मिलले पनि किसानको झण्डै ५३ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । उद्याेगले ११ लाख २६ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । जिल्लाकै ठूलो इन्दुशंकर चिनी कारखाना हरिवनले ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्याेगका सहायक उखु प्रबन्धक दिवाकर पौडेलले जानकारी दिनुभयो । 

यस सिजनका लागि उद्याेगले उखु खरिद गरेबापत किसानलाई १ अर्ब ६५ करोड ६० लाख भुक्तानी गर्नु पर्ने उहाँले जानकारी दिनुभयो । इन्दुशंकर चिनी उद्याेगले माघ मसान्तसम्मको भुक्तानी गरिसकेको छ। 

त्यसैगरी महोत्तरीमा रहेको एभरेष्ट सुगर मिलले यस सिजनका लागि ३४ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक युगलकिशोर चौरसियाले जानकारी दिनुभयो । उद्याेगले झण्डै १ अर्ब ६२ करोड किसानको रकम भुक्तानी गर्नु पर्नेछ। उद्याेगले १ माघदेखि १५ माघ सम्मको रकम भुक्तानी गरेको छ । 

त्यसैगरी बारामा रहेको रिलायन्स सुगर मिलले २८ लाख ३६ हजार क्विन्टल उखु खरिद गरेको छ । रिलायन्स सुगर मिलले पनि सहमतिअनुसार, किसानको रकम भुक्तानी गरेको छैन । अधिकांश चिनी उद्याेगले चिनी बिक्री नभएकै कारण समयमा भुक्तानी गर्न नसकेको बताएका छन् । 

उद्याेगले सहमति अनुसारको रकम  भुक्तानी नदिएको कारण अनसनमा बस्नु परेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताउनुभयो।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया