लेखा समितिमा कुलमानको चेतावनी : भ्रष्टाचार गरेकाे प्रमाणित भए झुण्डिएर मर्छु

 जेठ ७, २०७६ मंगलबार १४:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनु भएको छ । 

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उहाँले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनु भएको हो । कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराउनुभयो ।

उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।

यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । उहाँले त्रिशूली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनी गम्भीर प्रश्न पनि उठाउनुभयो । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसार नै तिर्नुपर्ने शुल्क तीर्न उद्योगी/व्यवसायीहरुलाई पत्राचार गरिएको बताउनु भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया