धावनमार्ग स्तरोन्नतिको काम तीव्र

 जेठ ८, २०७६ बुधबार ८:२:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ ।

धावनमार्गको हालसम्म दुई हजार २२० मिटर स्तरोन्नति सकिएको विमानस्थलले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गत चैत १८ देखि धावनमार्ग पूर्णरुपमा मर्मतको काम शुरु गरेको थियो । एक महिना २१ दिनको अवधिमा दुई हजार २०० मिटरभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ । 

आयोजनाका निर्देशक बाबुराम पौडेलले धावनमार्ग मर्मतको काम युद्धस्तरमा अघि बढेको र निर्धारित समय अगाडि नै काम सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने आयोजना प्रमुख पौडेलको भनाइ थियो ।

नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्ण रुपमा पिच परिवर्तन गर्न लागिएको हो ।धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन भइरहेको छ । स्तरोन्नतिको काम थालिएको गत चैत १८ गतेदेखि तीन महिनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिएको छ । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सोमबारसम्म दुई हजार २२० मिटर सकिएको छ । अब ८३० मिटर बाँकी छ । स्रोत साधन र जनशक्तिको प्रभावकारी परिचालन गरिएकाले स्तरोन्नतिको काममा कुनै समस्या नरहेको श्रेष्ठले बताउनुभयो । 

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो । नियामक निकाय प्राधिकरणका अनुसार धावनमार्ग जिरो टु देखि १६ सय मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा थियो । 

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक पिच परिवर्तन गर्न लागिएको हो । धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिएको थियो । हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर बिहान ८ बजे सञ्चालनका लागि तयार गरिन्छ । 

धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखको लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।

गौचरनबाट सुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव व्योहोरिसकेको छ । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न सकिएको हो । हाल यो विमानस्थलबाट साना १९ सिटरदेखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । 

सन् २०१९ देखि २०११ सम्म विमानस्थलको धावनमार्गको ‘ओभर ले’ गरिएको थियो । सन् २०१३ देखि पिच उप्किने समस्या आयो । त्यसको अस्थायी समाधान गरिरहेका बेला सन् २०१५ को भूकम्पले सतहमा खासै क्षति नपुर्‍याएको भए पनि भित्री तहमा समस्या उब्जेको विज्ञहरुले बताएका थिए । अन्तर्राष्ट्रिय परामर्शदाताबाट पनि रनवे तथा ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेको नयाँ प्रविधि प्रयोग गरी नयाँ पेभमेन्ट राखी रिह्याब गर्न सुझाएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । विमानस्थलका निमित्त महाप्रबन्धक सुरेशमान सिंहले धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती भएको जानकारी दिनुभयो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनुका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया