'घाम सरकार असफल हुँदा छाया सरकार, याे पनि असफल भए भाेलि पानी सरकार !'

 जेठ ८, २०७६ बुधबार ११:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि गठन गर्ने भनेको छाया सरकार घोषणा गरेको छ ।  

चुनावमा पराजय भएसँगै उसले सरकारको समानान्तर छाया सरकार बनाउने भनेर भन्दै आएको थियो । तर पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन । 

कांग्रेसले आफ्नो संसदीय दलको विधान संशोधन गर्दै सरकारको कामलाई निगरानी गर्ने गरी छाया सरकार बनाउने व्यवस्था राखेको थियो । 

पार्टी सभापतिसमेत रहनुभएका संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाउनुभएको हो । 

अब सरकारका हरेक मन्त्रालयको गतिविधिमाथि आफ्नो पार्टीको छाया सरकारका मन्त्रीहरुले निगरानी राख्ने र गलत भए सजग गराउने उहाँले बताउनुभयो ।तर कांग्रेसले छाया सरकार गठन गरेलगत्तै यसप्रति सकारात्मक तथा नकारात्मक प्रतिक्रिया दुवै आएका छन् । 

कतिपयले कांग्रेसको छाया सरकार जम्बो भएको भन्दै आलोचना गरेका छन् । सरकारलाई खबरदारी गर्न गठन गरिएको भनिएको कांग्रेसको छाया सरकार ५८ सदस्यीय रहेको छ । शेरबहादुर देउवाले २०५२ सालमा ५२, २०५८ मा ४१, २०६१ मा ३१ तथा २०७४ सालमा ६४ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको थियो । छाया सरकारमा पनि त्यसैलाई निरन्तरता दिएको भन्दै कांग्रेसको चर्को आलोचना भएको छ । 

केपी ओली नेतृत्वको २४ सदस्यीय मन्त्रिमण्डलको निगरानीका लागि ५८ सदस्यीय छाया सरकार गठन गरेको हो । जसका लागि २१ जना मन्त्रीस्तरीय संयोजक तोकिएका छन् भने ३७ जना सदस्य छन् ।

कांग्रेसले छाया सरकार गठन गरेसँगै सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया हेरौँ ।

कांग्रेसले गठन गरेको छाया सरकारप्रति व्यङ्ग्य गर्दै लक्ष्मण विश्वकर्मा फेसबुकमा लेख्नुहुन्छ, ‘यस्तो गर्मी मौसममा कांग्रेसले छाया सरकार बनाएर ठूलो राहत भएको छ । कमसेकम जनताले कांग्रेसले छायाको व्यवस्था गर्यो भन्ने ठानेर शीतलता महसुस गरिरहेका त छन् । धन्यवाद नेपाली कांग्रेसलाई । कांग्रेसले छाया सरकार बनाएलगत्तै सुर्खेतको तापक्रम पनि ह्वात्तै घटेको छ ।’

त्यस्तै जीवन काफ्ले छाया सरकारको नेतृत्व पनि शेरबहादुर देउवाले नै गरेको प्रति व्यङ्ग्य गर्दै लेख्छन्, ‘छाया सरकारमै भए पनि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइदिएको भए के नै जान्थ्यो र कांग्रेसको । यसमा पनि देउवाले छोडेनन् । गुनासो यति हो ।’

त्यस्तै रामप्रसाद पाण्डेय लेख्छन्, ‘प्रजातन्त्रमा छाया सरकार हुनु राम्रो हो । विश्वमा विभिन्न प्रजातान्त्रिक देशमा यस किसिमको अभ्यास हुने गर्छ । सरकारलाई सही मार्गदर्शन गर्न पनि आवश्यक छ ।’

 

सन्तोष पाण्डेयले छाया सरकार लोकतान्त्रिक पद्धतिकै अभ्यास भएको भन्दै लेख्नुहुन्छ, ‘लोकतन्त्रमा छाया सरकार हुन्छ तर नेपालमा नौलो लाग्नु स्वभाविक हो । छाया सरकारका सदस्यहरुले आ–आफ्नो विभागका मन्त्रालयले कामकारबाही नजिकबाट निरीक्षण गर्छन् ।’

 

त्यस्तै खड्ग सोनी संघर्षले फेसबुकमा लेख्छन्, ‘एकदम राम्रो काम हो यो जेठका प्रचण्ड गर्मीमा छाया पाउनु  स्वास्थ्यका लागि उत्तम भन्नुपर्छ । कात्तिक लाग्नेबित्तिकै कांग्रेसले घाम सरकार गठन गरेर जनतालाई वातानुकूलित सेवा दिइरहोस् ।’

 

याे पनि पढ्नुहाेस् 

गठन भयो कांग्रेसको छाया सरकार, के–के गर्न सक्छ यसले ?

 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया