यी हुन् विश्वकप क्रिकेटका सर्वाधिक सफल बलर !

 जेठ ८, २०७६ बुधबार १२:१९:४७ | एजेन्सी

आईसीसी विश्वकप क्रिकेट २०१९ सुरु हुन अब आठ दिन मात्र बाँकी छ । विश्वकपकाे मिति नजिकिएसँगै क्रिकेटप्रेमी आ-आफ्नाे देशकाे समर्थनमा उत्रिएका छन् ।

विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिका र घरेलु टोली इंग्ल्याण्ड आमने-सामने हुनेछन् । खेल ३० मे का दिन नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुने छ ।

आज हामी यसअघिका विश्वकपमा तहल्का मच्चाएका पाँच जना बलरका विषयमा चर्चा गर्दैछौं-

१‍.ग्लेन मेग्राथ (अस्ट्रेलिया)

विश्वकपको इतिहासमा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन्, ग्लेन मेग्राथ । उनले आफ्नो करियरमा ४ वटा विश्वकप खेले । जसमा उनले ३९ खेलमा बलिङ गर्दा ७१ विकेट लिएका छन् ।

उनले विश्वकपमा २ पटक पाँच भन्दा धेरै र ९ पटक तीन विकेट लिएका छन् । उनी मात्र एउटा यस्तो खेलाडी हुन्, अस्ट्रेलियाले सन् १९९९ देखि सन् २००७ सम्मका तीन वटै विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २००७ को विश्वकपमा उनले २४ विकेट लिएर म्यान अफ् द टुर्नामेन्टको पुरस्कार समेत जितेका थिए । 

२.मुथैया मुरलीथरन (श्रीलंका)

एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने श्रीलंकाका मुथैया मुरलीथरन विश्वकपमा भने उनी दोस्रो नम्बरमा पर्छन् । उनले ५ विश्वकपमा ४० खेलमा बलिङ गर्दा ६८ जना ब्ट्सम्यानलाई पेभेलियनको बाटो देखाए । मुरली सन् १९६६ मा श्रीलंकाले विश्वकप जित्दा टिमका महत्वपूर्ण सदस्य थिए ।

यसैगरी सन् २००७ र सन् २०११ मा श्रीलंकाले फाइनल खेल्दा उनी पनि टिममा रहेका थिए । सन् २०११ को विश्वकपमा श्रीलंकाबाट सर्वाधिक विकेट लिने खेलाडी बन्दा उनले १५ विकेट लिए । विश्वकपपछि उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटबाट सन्यास लिए ।

३.वसिम अकरम (पाकिस्तान) 

पाकिस्तानका वसिम अकरम विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा पर्छन् । सन् १९९२ मा इमरान खानको कप्तानीमा पाकिस्तानले विश्वकप जित्दा अकरमले उत्कृष्ट बलिङ गरेका थिए । ५ पटक विश्वकप खेलेका अकरमले ३८ खेलबाट ५५ विकेट लिएका छन् । उनले पाकिस्तानी टिमबाट सन् १९८७ देखि सन् २००३ सम्मका विश्वकप खेलेका थिए । 

४.चामिण्डा वास (श्रीलंका)  

एकदिवसीय क्रिकेटमा ४ सय विकेट लिने श्रीलंकाका तीव्र गतिका बलर चामिण्डा वासले सन् १९९६ देखि सन् २००७ सम्मको विश्वकप खेले । ३१ खेलमा उनले ४९ विकेट लिएका छन् । उनको सर्वाधिक सफल बलिङ भनेको २५ रन खर्चिएर ६ विकेट लिनु हो । सन् १९९६ मा विश्वकप जित्दा राम्रो प्रदर्शन गरेका उनले सन् २००७ को फाइनलमा भने विकेटविहीन हुनु परेकाे थियाे ।

५.जाहीर खान (भारत)

भारतीय तीव्र गतिका बलर जाहीर खान विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ नम्बरमा आउँछन् । उनले भारतका लागि तीन वटा विश्वकपमा बलिङ गरे । जाहीरले २३ खेलबाट ४४ विकेट लिएका छन् । सन् २००३ देखि सन् २०११ सम्मका विश्वकपमा उनले यो सफलता हात पारेका हुन् । घरेलु मैदानमा विश्वकप जित्ने क्रममा उनले २१ विकेट हात पारेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया