महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक जना महिलाले आफ्नै छोरालाई लागुऔषध सेवन गराउने गरेको खुलासा गरेको छ ।
ब्यूरोले काठमाण्डौ महानगरपालिका १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सीमाबाट लागुऔषध एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरुले पनि सेवन गर्ने गरेको पाइएको जनाएको छ ।
बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै ब्यूरोका एसएसपी वसन्तकुमार लामाले घरबाटै लागुऔषध बिक्री वितरण गर्ने क्रममा श्रेष्ठका दुई जना छोराहरु पनि लागुऔषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिनुभयो ।
गएको मंगलबार श्रेष्ठलाई प्रहरीले लागुऔषध नियन्त्रित मनोद्धिपक एम्पुल र लागुऔषध बिक्री वितरण गरेर संकलन गरेको एक लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठको कोठाबाट डाइजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ एम्पुल, फेनार्गन ५६० एम्पुल पनि बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले लागुऔषध चरेससहित झापाका सञ्जय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ ।
एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेससहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।