कुखुरा, बंगुर र रक्सी नचल्ने म्याग्दीको अनाैठाे गाउँ

 जेठ ९, २०७६ बिहिबार १२:३:५८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – कुनै ठाउँमा कुखुरा, बंगुर र जाँडरक्सी चल्दैन भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । म्याग्दीमा एउटा यस्तो गाउँ पनि छ, जहाँ कुखुरा, सुंगुर तथा बंगुरपालन र अवैध घरेलु जाँडरक्सी उत्पादन नै हुँदैन भन्दा पत्यार नलाग्ला । यहाँका स्थानीयले कुखुरा, सुंगुर र बंगुरपालन गर्दैनन्, जाँडरक्सी बनाउँदैनन्, यो वास्तविक र यथार्थ हो । 

हिजाेआज पशुपन्छीपालनबाट मानिसहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । कतिपयले व्यावसायिक रुपमै फर्म दर्ता गरेर कुखुरापालन र बंगुरपालन गरिरहेका छन् । यस्तै जाँडरक्सी उत्पादन र बिक्री वितरणबाट पनि राम्रै कमाइ हुने गरेको छ । अझै गाउँगाउँमा त झन् अवैध घरेलु जाँडरक्सी दिनानुदिन उत्पादन हुनुका साथै छ्यापछ्याप्ती बिक्री वितरण हुने गर्दछ । 

घरेलु जाँड रक्सी स्थानीयको जिविकोपार्जनको एउटा गतिलो माध्यम समेत बनेको छ । तर, यस्तो अवस्थामा पनि म्याग्दीको एउटा गाउँमा भने व्यवसाय त परै जाओस्, घरायसी कुखुरा, सुंगुरपालन, बंगुरपालन र घरेलु जाँडरक्सी उत्पादन नै हुँदैन । उत्पादन नै नभएपछि बिक्री वितरण हुने त झन् कुरै भएन । 

व्यावसायिक तथा घरायसी कुखुरापालन, बंगुरपालन र जाँडरक्सी उत्पादन नहुने गाउँ म्याग्दीकाे सदरमुकाम बेनीबजारदेखि नजिकै पर्दछ । 

त्यो गाउँ हो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँ । बेनी नगरपालिका–५, पुलाचौरमा रहेको गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन हुँदैन भने जाँडरक्सी समेत उत्पादन गरिँदैन । नेपालमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलिपबम (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै गाजनेमा कुखुरा, सुंगुरपालन, बंगुरपालन र जाँड रक्सी उत्पादनलाई निषेध गरिएको भनाइ छ ।

गाजने गाउँमा बजारको रक्सीसमेत बिक्री वितरण हुँदैन । बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन । यदि कसैले यस्ता गलत कार्यहरु गरेको पाइएमा जगन्नाथ मन्दिर परिसरमा सर्प निस्किने गरेको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताउनुभयो । 

राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र जाँडरक्सी उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । गाउँको बीच भाग हलहलेचौरमा प्रसिद्ध जगन्नाथ मन्दिर रहेको छ ।

भगवान् जगन्नाथको मूर्ति स्थापना गरी मन्दिर बनाइएको गाउँ गाजनेको गाउँभरी कसैले पनि कुखुरापालन, बंगुरपालन र जाँड रक्सी उत्पादन गर्दैनन् । जगन्नाथ भगवान्ले यी उत्पादनलाई राम्रो नमान्ने भएकाले यसको उत्पादन र बिक्रीवितरण नभएको हो । 

तत्कालीन राजा दिलिपबमले जगन्नाथ मन्दिरको स्थापना गरेसँगै गाजने गाउँमा कुखुरा तथा बंगुरपालन र जाँड रक्सी उत्पादन गर्न नहुने किम्वदन्ती रहेको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले बताउनुभयो । राजाले बसालेको पुरानो नियम भएकाले यसलाई गाउँका सबैले मान्दै आएको र परिवर्तन नगरिएको उहाँले जानकारी दिनुभयो । हाल गाजने गाउँमा जम्मा २१ घरधुरीको मात्रै बसोबास रहेको छ ।

जगन्नाथ मन्दिरभित्र केके छन् त ?

गाजने गाउँको बीचमा रहेकाे भूभागमा जगन्नाथ मन्दिर अवस्थित छ । राजा दीलिपबमले १४औं शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू त्यस ठाउँमा अलप भएको किम्वदन्ती रहेको पाइन्छ भने मन्दिरभित्र राजाको समाधीस्थल समेत रहेको छ ।

मन्दिरभित्र भगवान् जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, बलराम, चतुर्वाहु, नृसिंह, गणेश र विष्णुका अवतार मूर्तिहरु रहेका छन् । मन्दिरभित्र रहेका अधिकांश मूर्तिहरु धातुको सहायताबाट बनाइएको छ । 

धार्मिक पर्यटन बढाउने तयारी

जाँड रक्सी र मासु नचल्ने जगन्नाथ मन्दिर रहेको गाजने गाउँमा धार्मिक पर्यटनको वृद्धि गर्ने तयारी अगाडि बढाइएको छ । जगन्नाथ मन्दिरको आवश्यक प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन बढाउनका लागि सडक विस्तार, भ्यु–टावर निर्माण जस्ता कार्यलाई जोड दिइएको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

गाजने गाउँलाई शाकाहारी गाउँका रुपमा विकास गरी धार्मिक पर्यटनको वृद्धि गर्न र योग शिविर पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । जगन्नाथ मन्दिर नजिकै १० मिनेटको पैदल दूरीमा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा चालु वर्षमा बेनी नगरपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा भ्यु–टावरको निर्माण कार्य सुरु भएको छ ।

गुफाको डाँडाबाट डेढ दर्जनभन्दा बढी मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न पाउनुका साथै म्याग्दीका साविकको ४१ मध्ये ३६ ओटा गाविसहरु प्रत्यक्ष देखिन्छन् । 

कसरी पुगिन्छ जगन्नाथ मन्दिर?

समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिर जानका लागि म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनहरु पाइन्छन् । जगन्नाथ मन्दिर र गाजने गाउँ म्याग्दीबाट पैदलयात्रा गरेर झण्डै ३ घण्टा र सवारीसाधनबाट १ घण्टामा सजिलै पुग्न सकिन्छ । बेनीको हुलाकचोकबाट पदमार्ग हुँदै गुफा–पौलस्त्य–पुलहाश्रम–ढोलठान राजदरबार भएर पनि जगन्नाथ मन्दिरसम्म पदयात्रा गर्न सकिन्छ ।

पछिल्लो समय मन्दिरमा विभिन्न जिल्लासहित विदेशबाट पनि भक्तजन र पर्यटकहरु आउने गरेका छन् । मन्दिरमा दैनिक रुपमा पूजाआजा हुँदै आइरहेको छ । जगन्नाथ मन्दिरदेखि आधा घण्टाको दूरीमा तत्कालीन राजा दिलिपबमको ऐतिहासिक डढेकोट दरबारको भग्नावशेष रहेकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया