पालेकाे माछा पोखरीमै मर्दा १० लाख घाटा

 जेठ ९, २०७६ बिहिबार १२:४९:१५ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ - धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर-३, गौंतीका माछापालक किसान चन्द्र तामाङको तीन वटै पोखरीमा एक्कासी माछा मर्न थालेका छन् ।

तामाङले विगत ५ वर्षदेखि व्यावसायिक रुपमा माहुर जातको माछापालन गर्दै आउनुभएको छ । तर एक्कासी पोखरी नै रित्तो हुने गरी माछा मर्न थालेपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘केही दिनमा माछा बेचौंला र लिएको ऋण तिरौँला भनेको । माछा पानीमा तैरियो म चाँहि ऋणमा चुर्लुम्म डुबेँ । अहिले के गरौं र कसो गरौं भएको छ ।’

एक्कासी माछा परेपछि झण्डै १० लाख बराबरको क्षति भयो । माछा बचाउन एग्रोभेटदेखि पशुसेवा ज्ञान केन्द्र पुगे पनि तामाश्मारले माछा बचाउन सक्नुभएन ।  

पोखरीमा ठाउँ सानाे भएकाले माछा मरेको प्राविधिकहरु बताउँछन् तर तामाङलाई याे कुरामा विश्वास छैन ।

यहाँ मरेको माछामा झिंगा बस्दा झिंगा मरेको छ, कागले माछा खाँदैन त्यासैले कसैले विष हालिदिएको तामाङकाे आशंका छ । माछा मरेको पिर एकातिर, दुर्गन्ध फैलिएर व्यवस्थापन गर्न कठिन उस्तै । मरेको माछा टिप्दै खाल्डो खनेर पुर्दैछु ।

‘आधा किलो भैसकेको माछा तुलोमा हाल्ने बेला खाल्डोमा हाल्नु पर्‍या छ । पिरैपिरको भारीले थिचिएको छु,’ उहाँले दुखेसो पोख्नुभयो । 

धादिङमा माछा विशेषज्ञ नभएकाले पनि माछा मर्नुको कारण पत्ता लागेको छैन । तर अन्य जीव जनावर हेर्ने प्राविधिकहरु अक्सिजनको कमी र माछालाई चाहिने ठाउँ नपुगेकाले मरेको अनुमान लगाउँछन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका पशु स्वास्थ्य प्राविधिक एवं सूचना अधिकारी घुरन मण्डल परीक्षणका लागि नपठाइएसम्म यही कारणले माछा मर्‍यो भन्न नसकिने बताउनुहुन्छ ।

‘परीक्षणका लागि काठमाण्डाै पठाउँछौँ, नतिजा आएपछि मात्रै के हो भन्न सकिन्छ, उहाँले बताउनुभयो ।’

धादिङमा १५ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ जसबाट लगभग ४० मेट्रिक टन माछा उत्पादन हुन्छ । धादिङकाे नीलकण्ठ, धुनिवेसी, त्रिपुरेश्वर, गजुरी, र बेनिघाटका विभिन्न क्षेत्रहरुमा माछा पालन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्कले देखाउँछ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया