ओलम्पिकमा १५ वर्षमै स्वर्ण पदक जितेकी पाैडीबाज रुटाले २२ वर्षमै लिइन् सन्यास

 जेठ ९, २०७६ बिहिबार १३:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

लिथ्वानियाकी पौडीबाज रुटा मिलुतितेले सन्यास लिएकी छिन् । लण्डन ओलम्पिककी स्वर्ण पदक विजेता रुटाले २२ वर्षको उमेरमा सन्यास लिएकी हुन् । लगातार तीनवटा ड्रग टेस्ट छुटाएकी मिलितुतेले १५ वर्षको उमेरमा स्वर्ण पदक जितेकी थिइन् ।

उनले १०० मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन् । उनले प्लाइमाउथमा अध्ययन तथा प्रशिक्षण लिँदै आएकी थिइन् । तीनवटा ड्रग टेस्टमा सामेल नभएपछि उनलाई एकदेखि दुई वर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने सम्भावना थियो । ड्रड टेस्टमा सामेल हुन नसकेकोमा पूर्ण जिम्मेवारी आफ्नै रहेको बताउँदै उनले सन्यास लिने निर्णय गरेकी हुन् ।

‘जिवनको नयाँ पाटो शुरु गर्नका लागि तयार छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डोपिङ टेस्टका पदाधिकारीले तीनवटै टेस्टमा उनीसँग सम्पर्क गर्ने प्रयास गरेपनि उनी सम्पर्कमा आएकी थिइनन् । उनले पछिल्लो समय आफू ‘डिप्रेसन’को शिकार भएको र सोही कारणले गर्दा रियो ओलम्पिकमा सातौँ भएको जानकारी दिइन् ।

लण्डन ओलम्पिक लगत्तै उनी लिथ्वानिया फर्केकी थिइन् र अष्ट्रेलिया, टर्की र अमेरिकामा प्रशिक्षण गरेकी थिइन् । उनले अध्ययनमा समय दिएको र खेलकुदभन्दा बाहिर आफ्नो करियर बनाउने उल्लेख गरेकी छिन् । प्लाइमाउथमा प्रशिक्षण दिएका प्रशिक्षक जोन रुडले उनी ब्रेस्ट स्ट्रोकमा विश्वकै सबैभन्दा उत्कृष्ट बन्न सक्ने सम्भावना भएकी खेलाडी थिइन् भनेका छन् ।

उनले एक सय मिटर ब्रेस्ट स्ट्रोकमा बनाएको एक मिनेट २.३६ सेकेण्डको विश्व कीर्तिमान अझै पनि कायम छ । सो कीर्तिमान उनले सन् २०१३ मा भएको विश्व च्याम्पियनसिपमा बनाएकी थिइन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया