निमा र फुरदिकीले चढे सगरमाथा

 जेठ ९, २०७६ बिहिबार १३:३१:४४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका दुई जना एकल महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् । 

हिमालमा श्रीमान गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन हामी पनि गर्न सक्छौं  भन्ने नाराका साथ उनीहरु सगरमाथा आरोहणमा गएका हुन् ।

फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर तथा निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् । हिमालबाट खुशी खोसिएका फुरदिकी र निमा अहिले खुशी खोज्दै हिमालमै गएका थिए ।

हिमालले खोसेको खुशी खोज्न हिमालमै दुई एकल महिला

आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने उनीहरुको लक्ष्य छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सीप र योजना दिएर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका क्रममा आफूहरु सगरमाथा चढ्न गएको उनीहरुले बताएका छन् ।

श्रीमान गुमाएपछि बाँच्नकै लागि भारी बोकेर हिमालतिर दौडिरहेका फुरदिकी र निमाले बिहीबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया