जनकपुरमा लुटपाट गर्न आएका ८ भारतीय डाँका हतियारसहित यसरी परे प्रहरीको फन्दामा

 जेठ ९, २०७६ बिहिबार १५:१४:३४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – योजना बनाएर जनकपुरमा डकैती गर्न आएका ८ जना भारतीय पेशेवर डाँकालाई धनुषा प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, विहारकुण्डस्थित जानकी विहार कुटीमा बुधबार राति सवा ९ बजे सुनचाँदीका गरगहना र नगद लुट्न आएका उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गर्न सफल भएको हो ।

पक्राउ गर्ने क्रममा प्रहरी र डाँका समुहबीच घम्साघम्सी भएको थियो । त्यस क्रममा गोली फायर गरी डाँकाहरु भाग्न खोज्दा जवाफमा प्रहरीले चलाएको गोली लागेर एकजना डाँका घाइते समेत भएका छन् । घाइते हुने डाँका भारत विहार प्रदेश समस्तीपुर जिल्ला गोदुपुरका २० वर्षका छोरा रवि मल्लिक डुम रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यस्तै पक्राउ पर्नेहरुमा विहार समस्तीपुर जिल्ला सिमरी ८ बस्ने २० वर्षका साहिल रजक, वडा नं. ३ बस्ने वर्ष २४ का अजित कुमार सिंह, भगवानपुर चकसीव वडा नं. ४ बस्ने २८ वर्षका सुजित कुमार राय, महोदीनगर वडा नं. ६ बस्ने ३० वर्षका अमिकुमार सिंह र त्यसै वडामा बस्ने २० वर्षका अमितकुमार यादव छन् ।

यस्तै मधुवनी जिल्ला सहारघाट ५ बस्ने ३२ वर्षका रंजितकुमार भगत र वडा नंं ८ बस्ने वर्ष ३८ का पप्पु भन्ने संजयकुमार सुमन रहेका छन् । सुमनलाई भने भाग्ने क्रममा मठिहानीबाट पक्राउ गर्न सफल भएको उपरीक्षक खनालले जानकारी दिनुभयो ।

उनीहरु बीआर ३२ एस ०८९५ र बीआर ३२ आर ८२१३ नम्बरको मोटरसाइकल र बीआर ०७ एजी १५८१ नम्बरको स्कुटर लिएर लुट्न जनकपुर पसेका थिए । डाकाहरुले लुट्न प्रयोग गरेका मेड इन यूएसए लेखेको पेस्तोल १ थान,  त्यसमा प्रयोग हुने म्याग्जिन १ र गोली २ थान, कटुवा पेस्तोल १ थान र त्यसको गोली १ थान, खुकुरी १ थान, मोबाइल ३ थान लगायत बरामद भएको छ ।

पक्राउ परेका डाकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरु कुट्टीमा लुटपाट गर्न पसेको पूर्व सूचनाको आधारमा प्रदेश प्रहरी, संघीय प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले घेरा हालेर उनीहरुलाई पक्राउ गर्न सफल भएको उपरीक्षक खनालले बताउनुभयो ।

पक्राउ परेकाहरु भारतमा पेशेवर डाकारहेको खुलेको उपरीक्षक खनालको भनाइ छ ।    

उपरीक्षक खनालका अनुसार उनीहरुमाथि लुटपाट तथा खरखजाना ऐन कसुरमा कारबाही प्रक्रिया अघि बढाएको र थप अनुसन्धान भइरहेको छ ।    

 

अन्तिम अपडेट: फागुन २९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया