गुठिचौर जग्गा विवाद प्रकरण: तीव्र रुपमा अनुसन्धान हुँदै

 जेठ ९, २०७६ बिहिबार २०:३७:४४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिकामा रहेको भेडा फार्मको ५ सय ९० रोपनी सरकारी जग्गाको विवाद प्रकरणमा अनुसन्धान थालिएको छ । तत्कालीन मालपोत कार्यालयका अधिकृत गोविन्द न्यौपाने र आफन्तको नाममा त्यो जग्गा पास गरिएको विषयमा अनुसन्धान थालिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिम्मा लिएको यस घटनाका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको लागि थप ११ जनालाई ७ दिन भित्र सम्पर्कमा आउन अख्तियारले सूचना जारी गरेपछि जुम्लामा तरंग छाएको छ । 

जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार सम्पर्कमा ल्याउन भनी पठाइएको एक जनाको मृत्यु भइसकेको छ ।

यो विषय अख्तियारले आफैँ अनुसन्धान गरिरहेको र दुई वर्ष अघि नै सक्कल मिसिल काठमाण्डौ पठाइएको रेकर्ड भएको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताउनुभयो ।

अख्तियार दुरुपयोग आयोगका अनुसार यस जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ  । ‘जुम्ला जग्गा घटनाको अनुसन्धानलाई आयोगले प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।’अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भन्नुभयो, ‘सुरुमा जग्गा दर्ता प्रक्रिया अनियमितता भएको भन्दै निवेदन परेपछि आयोगले अनुसन्धान सुरु गरेको हो ।’

घटनाको छानबिन दुई वर्षअघिदेखि नै सुरु भएको थियो । जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले छानबिन गरी सरकारी जग्गा अवैध रूपमा व्यक्तिको नाममा पास गरेको भन्दै कारबाहीको सिफारिस गर्नुभएको थियो  । दुई वर्षपछि अख्तियारले छानबिन अघि बढाए पछि अहिले जुम्लामा निकै ठूलो हलचल भएको छ ।

यसैगरी अख्तियारले गुठीचौर–४ का कविदत्त न्यौपाने, गोमा न्यौपाने, पार्वती न्यौपाने, केशवराज न्यौपाने, नवऋषि न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, विष्णुऋषि शर्मा

न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायादेवी न्यौपाने र जानकीदत्त देवकोटाको नाममा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । 


 

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया