पाँचथर हत्याकाण्ड : ९ जनाको सामूहिक अन्त्येष्टि

 जेठ ९, २०७६ बिहिबार १८:९:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ गाउपलिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका १० जनाको बिहीबार अन्त्येष्टि गरिएको छ ।

विभत्स हत्याकाण्डमा ज्यान गुमाएका २ परिवारका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका व्यक्तिको छुट्टाछुट्टै ठाउँमा अन्त्येष्टि गरिएको हो ।

विभत्स हत्या गरिएका दुई परिवारमध्ये बमहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमै एउटै चित्ता  बनाएर सामूहिक अन्त्येष्टि गरिएको  मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले बताउनुभयो । ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र  १२ वर्षीया  श्रेया फियाकको आरुबोटेमा सामूहिक अन्त्येष्टि गरिएको हो ।

विभत्स हत्याकाण्डमा हत्या गरिएका बमबहादुरका ज्वाइँ धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ स्थित सराङडाडाँको बतासे भन्ने ठाँउमा अन्त्येष्टि गरिएको छ । शेर्मा परिवारका ४१ वर्षीय धनराज शेर्मासहित उनकी ३६ वर्षीया श्रीमती जस्मिता फियाक छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया  योवना शेर्मा,  ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको  थियो । उनीहरुको पनि एउटै चित्ता बनाएर सामूहिक अन्त्येष्टि गरिएको हो ।

मंगलबार दिउँसो घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका बमबहादुरको कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि अन्त्येष्टि गरिएको छ । उनको धरानमा अत्न्येष्टि गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताउनुभयो । मानबहादुर घटनामा संलग्न हुनसक्ने प्रहरीको आशंका थियो ।  

विभत्स हत्या गरिएका ९ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिम गरी १० जनाको शव धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा पोष्टमर्टम गरिएको थियो । शव पोष्टमर्टमपछि माखिमको धरानमै अन्त्येष्टि गरिएको हो ।

मिक्लाजुङवासी स्तव्ध

एउटै गाउँका, एकै दिनमा ९ जनाको शरीर आगोले जलेर खरानी भइरहँदा बिहीबार मिक्लाजुङवासी मात्र नभएर त्यस ठाँउमा पुगेका सबै मानिस स्तव्ध देखिए । सबैका आँखामा आँसु थियो । 

गाउँलेमा कुनै उत्साह देखिएन । गाउँनै पुरै यतिखेर शोकमा डुबेको छ । ‘एउटा सपनाजस्तो महसुस गरिरहेका छन् । सपनाजस्तो लागेको छ । काम गर्ने मनै छैन । यो भन्दा दर्दनाक र भयावह अवस्था मानिसमा के हुन सक्छ र ?’ स्थानीय बताउँछन् ।

मान्छे पनि यति क्रुर र कठोर हृदय भएको हुन्छन र ? यीनै कुराहरु एक आपसमा गर्दै बसेका छन् गाउँले । गाउँमा विभत्स हत्याकाण्डपछि सरकारी कार्यालय सुनसान छ ।  सधैँ सेवाग्राहीको चाप हुने कार्यालयमा सेवाग्राही आएका छैनन् । गाँउमा सुरक्षाकर्मीको बाक्लो परिचालन भए पनि मनबाट भय हट्न नसकेको स्थानीयवासी बताउँछन् ।

विभत्स हत्याकाण्डको  बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अनुसन्धान गरिहेको छ ।


 

अन्तिम अपडेट: चैत ६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया