पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ ।
नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्नु हुने भएको छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि पूर्ण बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा फर्किने मोदी दोस्रो हुुनुहुन्छ ।
विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बीजेपी एक्लैले झण्डै ३ सय सिटमा जित हात पार्ने निश्चित भएको छ । ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय ७२ सिट जित्ने पार्टीले सरकार बनाउन सक्नेछ । त्यसैले बीजेपी एक्लैले पनि सरकार बनाउन सक्नेछ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए)को खातामा भने झण्डै ३ सय ५० सिट जाने भएको छ ।
त्यस्तै भारतीय कांग्रेसले झण्डै ५० सिटमा जित हात पार्ने देखिन्छ । सन् २०१४ को लोकसभा चुनावम भन्दा कांग्रेसले ७ सिट बढी जित्ने देखिएको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए)ले झण्डै ९० सिटमा जित हात पार्ने देखिन्छ । त्यस्तै वाईएसआर कांग्रेस पार्टीले २५ ठाउँमा जित हात पार्दा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले २३ सिटमा जित हात पार्ने देखिन्छ ।
वाराणसीबाट भारतीय प्रधानमन्त्रीसमेत रहेका नरेन्द्र मोदी जितनजिक हुनुहुन्छ । उहाँले बसपा-सपा गठबन्धनकी उम्मेदवार शालिनी यादवलाई हराउनु भएकाे हाे ।
त्यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठीमा केन्द्रीय मन्त्री स्मृति इरानीसँग हार व्यहोरे पनि केरलको वायनाडमा भने प्रचण्ड मतका साथ जितनजिक हुनुहुन्छ । उहाँले केरलको वायनाडमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार पीपी सुनीरलाई हराउनु भएको हो । त्यस्तै भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी उत्तर प्रदेशको राय बरेलीबाट विजयी भएको छ । उहाँले बीजेपी उम्मेदवार दिनेशप्रताप सिंहलाई हराउनु भएको हो ।
माेदीकाे विकल्प भएन
यसपटक विपक्षी दलहरु एकजुट भएर नरेन्द्र मोदीलाई सत्ताबाट बहिर्गमनको बाटो देखाउने बताए पनि त्यो योजना सफल भने हुन सकेन । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी, तृणमूल कांग्रेसकी नेतृ तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, समाजवादी पार्टीकी अध्यक्ष अखिलेशकुमार यादव, बहुजन समाजवादी पार्टीकी नेतृ मायावतीले मोर्चाबन्दी बनाएर बीजेपी र मोदीलाई घेर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
मोदीको नेतृत्व र राजनीतिक कुटिलताका अगाडि सबै फिक्का देखिए । सन् २०१४ को लोकसभा चुनावमा विकासका मुद्दाले प्राथमिकता पाएको थियो । तर यस पटक भने भारतीय आम चुनाव विकासभन्दा पनि एकअर्काप्रति आरोप–प्रत्यारोपमा केन्द्रित भएको थियो ।
यस पटक बीजेपीले हिन्दीपट्टी भनेर चिनिने हिन्दीभाषी क्षेत्रमा राम्रो प्रदर्शन गरेको छ । अघिल्लो चुनावमा ‘सबैको साथ, सबैको विकास’ भनेर चुनावी मैदानमा उत्रिएको बीजेपी यसपटक भने प्रधानमन्त्री मोदीको व्यक्तित्वमा केन्द्रित भएको थियो । यसपटक चुनावी मैदानमा बीजेपीले घोषणापत्रका कुरा भन्दा पनि विपक्षीलाई निशाना बनाउने काम गरेको थियो । बीजेपीले यस पटक ‘फिर एक बार, मोदी सरकार’ अर्थात फेरि एकपटक मोदी सरकार नारा दिएको थियो । त्यसो त अधिकांश बीजेपी उम्मेदवारले पनि चुनावी मैदानमा आफूलाई भन्दा पनि मोदीको अनुहार र नेतृत्व हेरेर बीजेपीलाई भोट दिन मतदातालाई अपिल गरेका थिए ।
अर्को कुरा मोदीको विकल्पको रुपमा विपक्षी दलले कसैलाई उठाउन सकेनन् । बीजेपीले हिन्दू राष्ट्रवादको मुद्दालाई भजाइरहे पनि विपक्षी दलले त्यसलाई चुनौती दिन सकेन ।
नेपाली राजनीतिमा कस्ताे प्रभाव पर्छ ?
भारतमा बीजेपीको हिन्दू राष्ट्रवादको मुद्दाले जितेसँगै त्यसको नेपालमा कस्तो असर पर्छ भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । भारतमा साक्षी महाराज, साध्वी प्रज्ञा ठाकुर जस्ता धार्मिक अतिवादमा विश्वास राख्नेहरुको जितले नेपाली राजनीतिमा पनि हिन्दू राष्ट्रवादलाई टेकेर राजनीति गर्नेहरुलाई बल र आत्मविश्वास पुग्ने विश्लेषकहरु बताउँछन् ।
भारतमा जस्तै नेपालमा पनि सरकार विभिन्न लोकतान्त्रिक संस्थाहरुप्रति असहिष्णु बन्दै जाने चुनौती पनि छ । भारतमा मात्रै होइन विश्वमै ‘पपुलिज्म’ अर्थात लोकरिझाइँको जित भएकाले नेपालमा राष्ट्रवादको मुद्दा उचालेर राजनीति गर्नेलाई फाइदा पुग्ने देखिन्छ । नरेन्द्र मोदी र बीजेपीले उठाएको राष्ट्रवादको मुद्दालाई नेपाली राजनीतिमा पनि प्रयोग हुन सक्ने देखिन्छ । व्यवहारमा नभए पनि नेपाली राजनीतिक दलले बोलीमा मात्रै भए पनि राष्ट्रवादका मुद्दालाई बढावा दिने देखिन्छ ।
साथै बागी आवाजलाई जसरी भारतीय राजनीतिमा ठाउँ दिइन्नँ । त्यसरी नै नेपाली राजनीतिमा पनि त्यस्ता आवाजलाई अराष्ट्रिय र देशविरोधी तत्व मानिने खतरा रहेको पनि विश्लेषकहरु बताउँछन् ।