लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि इलाममा बासस्थानको व्यवस्था गरिने

 जेठ १०, २०७६ शुक्रबार १३:३८:६ | सुजता सुनुवार
unn.prixa.net

फाइल तस्बिर

इलाम – लोपोन्मुख मानिएको रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि इलाममा बासस्थानको पहल थालिएको छ ।

नेटवर्कको परियोजना सहकार्यमा उच्च पहाडी संस्थाले संरक्षणका लागि १ सय ८० रोपनी निजी जग्गा खरिद गर्ने निर्णय गरेसँगै सन् २०१९ भित्र बासस्थानको व्यवस्था हुने भएको हो  । 

संस्थाले रेडपाण्डा रहेका क्षेत्रमा भएको खाली जग्गा खरिद गरेर त्यस क्षेत्रमा रेडपाण्डाका आहराका रुपमा रहेका मालिङ्गो, भालुचिन्डे लगायतका वनस्पतिको वृक्षारोपण गर्ने नेटवर्क परियोजना संयोजक दाबा तेन्जी योल्मोले बताउनु भयो । 

इलामको सन्दकपुर गाउँपालिकामा रहेकाे जौबारी क्षेत्रमा पुनःस्थापना केन्द्र खोलिने र  डिभिजन वन कार्यालयकै नाममा जग्गा किनेर आफूहरूले संरक्षण गर्न लागेको संयोजक योल्मोको भनाइ छ । रेडपाण्डा पाइने क्षेत्रमा संस्थाले यस पटक ३ वटा ब्लक समेत थप्ने भएको छ । यसअघि १६ वटा ब्लक रहेका थिए । संरक्षणलाई प्रभावकारी बनाउन अरु ब्लक थप गर्न खोजिएको परियोजनाले जनाएको छ । 

हाल इलामका १८ सामुदायिक वनमा रेडपान्डा संरक्षण कार्यक्रम चलिरहेका छन् । रेडपाण्डाको चोरी–सिकारी नियन्त्रणका लागि अनुगमन, विद्यालयहरूमा क्लब गठन, रेडपाण्डाको अनुगमनका लागि क्यामेराबाट निगरानी गर्ने जस्ता कार्यक्रम संस्थाले चलाउँदै आएको समेत बताइएको छ । नेटवर्कले उच्च पहाडी संस्थाको सहकार्यमा सन् २००७ देखि नै इलाममा रेडपाण्डा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया