कम समय, श्रम र लगानीमा धेरै आम्दानी गर्न सकिने सतुवा खेती

 जेठ १०, २०७६ शुक्रबार १८:३७:९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – अलैँची व्यवसायिका साथै व्यावसायिक अलैँची उत्पादक किसानहुनुहुन्छ, मर्स्याङ्दी गाउँपालिका–७, छिनखोलाका अजय तामाङ । अलैँची खेतीबाट उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । अहिले उहाँले गाउँकै ४० रोपनी पाखो जग्गामा अलैँची खेती गर्दै आउनुभएको छ । 

अलैँची खेतीसँगै अहिले उहाँको मन तानिएको छ, सतुवा खेतीमा । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले उहाँ सतुवा खेतीतर्फ आकर्षित हुनुभएको हो । ‘थोरै समय, श्रम र लगानीमा धेरै उत्पादन र आम्दानी लिन सकिने भएकाले म सतुवा खेतीमा पनि लागेको छु,’ ३४ वर्षीय तामाङले भन्नुभयो ।

एक लाखमा सतुवा खेती सुरु 
  
उहाँले २०७४ सालबाट व्यावसायिक सतुवा खेती सुरु गर्नुभएको हो । ‘सुरुको वर्ष जग्गा छनौट र ग्रीन हाउस निर्माणमा जुटे र पछि सतुवा खेती सुरु गरिहालेँ,’ उहाँले भन्नुभयो । सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५ सय बिरुवा ल्याई एक रोपनी जग्गामा उहाँले सतुवा खेती सुरु गर्नु भएको हो ।

अहिले उहाँले ५ रोपनी जग्गामा रहेको ३ वटा ग्रीन हाउसमा झण्डै १२ हजार सतुवाको बिरुवा लगाउनुभएको छ । ‘सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले झण्डै ८ लाख लगानी भइसकेको छ,’ अजयले भन्नुभयो ।

माग र मूल्य दुवै उच्च 

अर्को वर्षदेखि सतुवा उत्पादन हुने उहाँले बताउनुभयो । उत्पादित सतुवा बिक्रीबाट झण्डै १५ लाख आम्दानी हुनसक्ने उहाँले अनुमान गर्नुभएको छ । उहाँका अनुसार बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । ‘सतुवाको माग र मूल्य दुवै राम्रो छ,’ उहाँले भन्नुभयो, ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ ।’

उहाँका अनुसार अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ । सतुवा खेतीसम्बन्धी आवश्यक ज्ञान, सीप पनि उहाँले लिनुभएको छ । उहाँले सतुवा खेती गर्नुअघि दोलखा, इलाम पुगेर सतुवा खेती सम्बन्धी आवश्यक तालिम लिनुभएको थियो ।

उहाँ काभ्रे पुगेर सतुवा उत्पादक कृषि फर्ममा स्थलगत अवलोकन समेत गरिसक्नुभएको छ । ‘आवश्यक तालिम लिएर म यो खेतीमा लागेको हुँ,’ उहाँले भन्नुभयो ।

बहुउपयोगी, बहुमूल्य सतुवा !

उहाँका अनुसार सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटर माथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ । संरक्षणको अभावमा यो जडीबुटी हराउँदै जान थालेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ ।

‘यो बहुमूल्य जडिबुटी हो । आधुनिक प्रविधिको प्रयोग गरी यसको व्यावसायिक खेती गर्न सकिए राम्रो आम्दानी लिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘घरगाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । किसानको जीवनस्तर माथि उकासिन सक्छ ।’

किसानको आकर्षण बढ्दो

राम्रो आम्दानी हुने भएसँगै अहिले यस खेतीप्रति लमजुङका किसानको आकर्षण बढेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको रुङटाङ, छिनखोला, लुदी, ताघ्रिङ, घेर्मु, बेशीशहर नगरपालिकाको खाँचेलगायत दूधपोखरी गाउँपालिका र क्वहोलासोँथार गाउँपालिकाका विभिन्न ठाउँका किसानले व्यवासायिक सतुवा खेती सुरु गरिसकेका छन् ।

जिल्लाका विभिन्न ठाउँका झण्डै ३ सय बढि किसानले व्यावसायिक अलैँची खेती सुरु गरिसकेको पनि अजयले जानकारी दिनुभयो । उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिकाका १० जना किसानहरु आपसमा मिलेर लालीगुराँस बहुउद्धेश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् ।

‘संस्था दर्ता गरेका छौँ । अब छिट्टै १० रोपनी जग्गामा सतुवा खेती गर्ने हाम्रो योजना छ,’ अजयले भन्नुभयो ।

सतुवा खेतीमा रमेका अजयले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आउनुभएको छ । ‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उहाँले भावी योजना सुनाउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया