सिन्धुलीमा विमानस्थल निर्माण प्रकृया सुरु

 जेठ ११, २०७६ शनिबार १४:५४:४६ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुली जिल्लामा विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणले सम्भाव्यता अध्ययन पूरा गरेको छ । कमलामाई नगरपालिका–८ सिस्नेरीस्थित कमला नदीको बगरमा विमानस्थल निर्माणका लागि आईएफआईडी कन्सल्टेन्सी संस्थाले चार महिना लगाएर सम्भाव्यता अध्ययन पूरा गरी प्रतिवेदन बुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रबन्धक तथा सिनियर इन्जिनियर नलविक्रम थापाका अनुसार यो संस्थाले सम्भाव्यता अध्ययनको प्रतिवेदन भर्खरै बुझाएकाले त्यसको अध्ययन गरी केही प्राविधिक कुरा मिलाउने काम भइ रहेको छ । ‘अब वातावरण प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गरी विमान स्थलको निर्माणका लागि टेण्डर गर्न बाँकी छ,’ सिनियर इन्जिनियर थापाले भन्नभुयो, ‘सिन्धुलीमा विमानस्थल बनाउन प्रकृया सुरु भएको छ ।’

गएको वर्षको बजेटमा सिन्धुलीमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको र अध्ययनको क्रममा विमानस्थल निर्माणको सम्भावना पनि देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार ईआईए स्वीकृत हुन डेढ वर्ष लाग्छ । त्यसपछि जग्गा अधिग्रहण गर्न थप अरु एक वर्ष लाग्ने छ । 

सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार कमलामाई नगरपालिका–८ को करकरे र सिस्नेरीको बीचमा रहेको कमला नदीको बगरको सात लाख ३४ हजार ३८ स्क्वायर मिटर क्षेत्रफलमा विमानस्थल निर्माण हुने छ ।

१३ प्रतिसत भ्याटसहित कुल ९३ करोड ९२ लाख ७८ हजार तीन सय ९८ रुपैयाँ लागतमा विमानस्थल निर्माण हुने उल्लेख छ । ‘तर यति लागतमा विमानस्थल निर्माण हुँदैन,’ सिनियर इन्जिनियर थापाले भन्नुभयो, ‘सबा अर्बदेखि साँढे अर्बसम्म लाग्न सक्छ । यो विमान स्थलसम्म पुग्ने सडक, रनवे, पार्किङ, स्प्रोन आदीको स्ट्रक्चरको लागत हो ।’

सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लाका लागि सुविधा पुग्ने गरी विमानस्थल निर्माण प्रकृया अघि बढेको हो । ७२ सिटेसम्म विमान अवतरण तथा उडान गर्न सक्नेगरी एक हजार सात सय ६० मिटर लामो र ३० मिटर चौडाइ भएको धावनमार्ग निर्माण गरिने पनि प्रतिवेदनम उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया