पर्सामा अपहरणपछि ७ वर्षीय बालकको हत्या

 जेठ १५, २०७६ बुधबार १३:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – गएको शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । स्थानीय शम्भु साह तुराहका ७ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।

विद्यालयबाट फर्कँदै गरेका बालक साह अपहरणमा परेका थिए । शम्भू साहको घर नजिकै डेरा गरी बस्ने भारतीय नागरिक विकास शर्माले आफ्ना २ जना साथीहरुसहित अपहरण गरेको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीमा रहेको खोलामा फेला पारेको हो । 

शर्माले नै प्रहरीलाई बालकको शव देखाएर भाग्न खोजेका थिए । प्रहरीले गोली चलाएर शर्मालाई पक्राउ गरेको हो । उनीसँगै उनका साथी सिकेन्द्र साहलाई पनि गोली लागेको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

शुक्रबार बिहान अपहरण गरिएका बालक करण साहको त्यही दिन हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

शम्भूको घर नजिक डेरा गरी बस्ने  विकास शर्मासँग बेला–बेलामा झै–झगडा हुने गरेको थियो । शम्भूसँग बदला लिने र पैसासमेत कमाउने उद्धेश्य राखेर शर्माले आफना साथीहरु बारा जिल्लाको कलैया उपमहानगरपालिका –११ का २१ वर्षीय सिकेन्द्र तेली बाराकै खपरताता बस्ने वर्ष २१ को रामविनेश महतोको सहयोगमा बालकको अपहरण गरेको अनुसन्धान बाट खुलेको छ ।

अपहरणकारीले शुक्रबार राति नै नेपाली मोबाइल नम्बरको प्रयोग गरेर ३० लाख रुपैयाँ माग गरेको र उनीहरुको लोकेशन कलैया देखिँदासमेत प्रहरीले चासो पूर्वक अनुसन्धान नगरेको बालकका बुवा शम्भू साह तुराहको गुनासो रहेको छ ।

अपहरणपछि उनीहरुले सुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए । पीडितले बालकको उद्धारमा बेलैमा प्रहरीले सहयोग नगरेको आरोप लगाउदै आएका छन् । तर पर्सा प्रहरीले भने प्रहरीले आफनो सक्रियतामा कुनै कमी नराखेको दाबी गरेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया