आजाद भिसामा बोलाउँछु भन्दै कतारबाटै ठगी

 जेठ १६, २०७६ बिहिबार १३:१४:१९

रमा मगर, उदयपुर ।

उदयपुर – संखुवासभाका बलबहादुर बिक आजाद भिसामा कतार ल्याउँछु भन्दै उदयपुरका तीन जना युवासँग २ लाख ५० हजार रुपैयाँ लिएर बेपत्ता छन् । 

ऐजेण्ट बलबहादुर  बिक

कतारमा रहेका बिकले उदयपुर त्रियुगा नगरपालिका–५ का तुलाराम दाहाल, रामबहादुर विष्ट र रमेश बस्नेतसँग आफूले काम गरिरहेको र काम लगाइदिन सक्ने भन्दै पैसा लिएर बेपत्ता भएका हुन् । कतारमा रहेका बलबहादुरले पैसा भने जनकपुर ठेगाना भएका दिपनारायण चौधरीको नाममा पठाउन लगाएका थिए । 

तीनै जनाले २०७५ माघ २० गते चौधरीको नाममा पैसा पठाए पनि बलबहादुरले विदेश पठाउने प्रक्रिया गरेनन् । बेपत्ता भए । 

पैसा विदेश जानका लागि पठाए पनि मनि ट्रान्सफरबाट पठाएको भौचरमा भने पारिवारिक लेनदेन लेख्न लगाइएको छ । ‘बालबहादुरले हामीलाई त्यसै भनेको थियो, उसले साँच्चै हो जस्तो कुरा गर्‍यो, पछि पो थाहा भयो त उसले ठगी धन्दा चलाउँदोरहेछ भनेर,’ तुलाराम भन्नुहुन्छ । 

दिपनारायणको नाममा पैसा हालिदिए पनि उनी को हुन भन्ने तीनै जनालाई थाहा छैन । तर बलबहादुरले नै पैसा उसको नाममा हालिदिन भनेकाले तीनै जनाले बलबहादुरलाई खोजिरहेका छन् । 

उनीहरुले जिल्ला प्रसाशन कार्यलय उदयपुरमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । तर बलबहादुरको घरको पूरा ठेगाना पनि थाहा नभएकाले एजेन्टलाई खोज्न समस्या भइरहेको छ ।

सुनसरीको इटहरीमा अस्थाइ बसोबास गर्ने भनिएकाले सूचना केन्द्रले सुनसरीमा रहेको सूचना केन्द्रमा जान सुझाव दिइएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया