३९ वटा संस्थानमा सरकारको १ खर्ब ६४ अर्ब ऋण : ११ वटा घाटामा, धेरैले लेखापरीक्षण पनि गराएनन्

 जेठ १६, २०७६ बिहिबार १४:३६:४३ | अर्जुन पोख्रेल
unn.prixa.net

सरकारले लगानी गरेका धेरै सार्वजनिक संस्थानहरुले यो वर्ष पनि आर्थिक अवस्था सुधार नगरेको पाइएको छ । सरकारले ३९ वटा संस्थानमा लगानी गरेकोमा जम्मा २६ वटा संस्था मात्रै सामान्य नाफामा रहेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले ११ वटा संस्थान घाटामा रहेको देखाएको छ । 

यो वर्ष सार्वजनिक संस्थानहरुले सञ्चालन आय गत वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि गरे पनि खुद नाफा भने जम्मा ४ दशलमलव ८८ प्रतिशतले मात्रै बढेको अर्थ मन्त्रालयले जनाएको छ । 

आर्थिक वर्ष २०७४/७५ सम्ममा नेपाल सरकारले ३९ वटा सार्वजनिक संस्थानमा २ खर्ब ३७ अर्ब ९ लाख रुपैयाँ शेयर लगानी गरेको छ । यो वर्ष लाभांसबापत ९ अबै ८९ करोड रुपैयाँ प्राप्त भएको छ यो गएको वर्षको तुलनामा २७ दशमलव २८ प्रतिशतले धेरै हो । 

सरकारले ३९ वटा संस्थानमा १ खर्ब ६४ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । ३९ वटा संस्थानमध्ये धेरैले अहिलेसम्म नियमित लेखापरिक्षण नगराएकाले आर्थिक अवस्था बुझ्न पनि कठिन भएको अर्थ मन्त्रालयले जनाएको छ । 

सरकारले वित्तीय क्षेत्रतर्फ साना किसान विकास बैंक, राष्ट्रिय सहकारी बैंक, ग्रामीण विकास लघुवित्त संस्थामा लगानी गरेको छ । 

औद्योगिक क्षेत्रतर्फ सरकारले विराटनगर जुट मिल, नेपाल ढलौट उद्योग, चिया विकास निगम, गोरखकाली टायर, नेपाल मेटल कम्पनी, बुटवल धागो उद्योग र रघुपति जुट मिल्समा लगानी गरेको छ । 

यस्तै सेवा क्षेत्रतर्फ नेपाल रेल्वेज कम्पनी लिमिटेड, विशालबजार कम्पनी, साझा पसल, साझा यातायात र साल्ट ट्रेडिङ कर्पोरेशनमा लगानी रहेको छ । 

यस्तै जनउपयोगी क्षेत्रतर्फ वुटवल  पावर कम्पनी र हिमाल हाइड्रो एन्ड जनरल कन्ट्रक्सनमा लगानी रहेको छ । 

यस्तै राष्ट्रिय सहकारी विकास बोर्डको स्वामित्वमा रहेका विकास समितीको समिक्षा, नेपाल इन्टरमोडल यातायात विकास समिति, रेडियो प्रसार विभाग, नगर विकास कोष, तारागाउँ  विकास समिति, सिंहदरबार वैद्यखाना विकास समिति, कानुन किताव व्यवस्था समिति, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, कपास विकास समिति र कालिमाटी तरकारी तथा फलफूल विकास समितिमा सरकारको शेयर लगानी छ ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया