पाँचथर हत्याकाण्ड : मानबहादुर माखिमले नै सबैको हत्या गरेको प्रहरीको निष्कर्ष

 जेठ १७, २०७६ शुक्रबार १७:३५:५१ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल फाेटाे

पाँचथर– गएको जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेको २ घरमा भएको विभत्स हत्याकाण्ड मानबहादुर माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटनाको स्थलगत अनुसन्धानले विभत्स हत्या भएको अर्काे दिन जेठ ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका मानबहादुर माखिमले नै सबैको हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । 

प्रहरीका अनुसार घटना स्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो । त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको थियो ।

माखिमले प्रयोग गरेको मोबाइल पनि त्यस समयमा घटनास्थल आसपास नै लोकेसन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँलले बताउनुभयो । स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ रहेको छ ।

प्रहरीले शंका गरेका व्यक्ति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । एकै रातमा ९ जनाको विभत्स हत्या गरेर माखिमले अर्काे दिन झुण्डिएर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

जेठ ६ गते २ घरमा भएको कारुणिक हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमाया फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया  श्रेयाको हत्या भएको थियो ।  यस्तै ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया  योवना शेर्मा,  ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको  हो । बमबहादुर र धनराज ज्वाइँ, ससुरा हुन् ।

घटना स्थलमा भेटिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि घटनामा अरुको पनि संलग्नता छ/छैन भन्ने खुल्ने प्रहरीले वताएको छ ।

प्रहरीले माखिममाथि निगरानी नराख्दा ठूलो घटना भयो : मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्किले प्रहरीले समयमै माखिममाथि निगरानी गर्न नसक्दा ठूलो हत्याकाण्ड भएको बताउनुभएको छ ।

बिहीबार प्रदेशसभामा जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । स्थानीयले पनि नुनकाण्डदेखि नै शंकाको घेरामा रहेका माखिममाथि प्रहरीले निगरानी राखेको भए यस्तो ठूलो घटना नघट्ने बताएका छन् ।

विभत्स हत्याकाण्ड हुनु केही दिनअघि जस्मिता फियाकको घरमा सञ्चालन भएको तालिमका सहभागीलाई दिइएको थुक्पाको खाजामा सिसाजस्तो देखिने बस्तु मिसाइएको थियो ।

त्यतिखेर तालिममा सहभागी ८ जना बिरामी परेका थिए । नुनकाण्डमा स्थानीयले माखिमलाई शंका गरेका थिए । तर त्यस घटनाको प्रहरीले अनुसन्धान गरेको थिएन ।


 

अन्तिम अपडेट: चैत २६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया