आहा ! तिम्बुङ पोखरी

 जेठ १८, २०७६ शनिबार १३:८:४५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - बर्खा याममा मात्र जान सकिने पूर्वको प्रसिद्ध पर्यटककीय स्थल तिम्बुङ पाँचथरको याङवरक गाउँपालिका, ताप्लेजुङको सिद्धिङवा गाउँपालिका र भारतको सिक्किम राज्यको त्रिकोणात्मक संगम स्थलमा अवस्थित छ ।

यो क्षेत्रमा पुग्न जेठ महिनादेखि भदौ महिनासम्मलाई उपयुक्त मानिन्छ । समुद्री सतहदेखि ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको तिम्बुङपोखरीमा असोज महिनादेखि भने जान सम्भव छैन् ।

असोजदेखि जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बेसीतिर झर्छन् । हिउँदयाममा अत्याधिक चिसो हुने र बाक्लो हिँउ पर्ने हुनाले यो क्षेत्र पुग्न हिउँदयाममा निकै कठिन हुन्छ ।

पूर्वको गोसाइकुण्डले परिचित तिम्बुङ पोखरी क्षेत्र दृष्यावलोकन र तीर्थयात्राको लागि अब्बल मानिन्छ । चट्टाने पडाडबीचमा रहेको तिम्बुङ पोखरी मनमोहक छ । झण्डै ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइ रहेको स्वच्छ–निर्मल पानिले भरिएको पोखरी हेरेर कहिल्यै धित नमर्ने तिम्बुङ पोखरी पुगेर फर्केका सञ्चारकर्मी सन्देश सुब्बाले सुनाउनुभयो । यहाँ पुग्दा बेग्लै संसारमा पुगे जस्तो महसुस हुने सुब्बाकाे अनुभव छ ।  

हिमालको काखमा रहेकोे सुन्दर तिम्बुङ पोखरी क्षेत्रमा विभिन्न प्रजातिका लेकाली जडिबुटी, लेकाली वन्यजन्तु, फराकिलो नागी चउर त कतै आङ नै जिरिङ्ग हुने खालका पहाडे चट्टानले यसकाे सौन्दर्यतालाई अझै मनमाेहक बनाएकाे छ । पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिमजस्ता फूल र जडीबुटी यहाँ पाइन्छ ।

तिम्बुङ पोखरी पुगेर दर्शन गरे पूण्य प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ । हरेक वर्ष पाँचथरसहित इलाम, ताप्लेजुङ, तेह्रथुम र तराईका जिल्ला र भारतको विभिन्न ठाँउबाट कैयौँ तीर्थयात्री तिम्बुङ पोखरी पुग्ने गर्दछन् । यस पोखरीको आसपासमा १ सय  ७८ वटा कुण्डहरु रहेको जानकारहरु बताउँछन् ।

यस ठाँउमा पुग्न त्यति सहज भने छैन् । पाँचथरको सदुरमुकाम फिदिमदेखि १८ कोस सुदूर उत्तरमा रहेको यस क्षेत्रमा पुग्न जुनसुकै रुट प्रयोग गरे पनि सवारीसाधनबाट ओर्लेपछि दुईदेखि तीन दिनसम्म पैदल हिँड्नै पर्छ ।

यस क्षेत्रको नजिकै कुनै मानव बस्ती छैन् । आवासको लागि चौँरी गोठ नै यहाँको होटल र लज हुन् । पाँचथरको सदरमुकाम फिदिमबाट गणेशचोकसम्म मेची राजमार्ग र त्यहाँबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा, ताप्लेजुङको कालिखोला हुँदै तिम्बुङ पोखरी पुग्न सकिन्छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ भएर पनि यहाँ पुग्न सकिन्छ । अर्काे बाटो इलामको पशुपतिनगरबाट पर्यटककिय स्थल सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङ पोखरीको यात्रा तय गर्न सकिन्छ ।

न्यानो कपडा, हल्का खालको जुत्ता, टोपी, स्लिपिङ ब्याग र हाई अल्टिच्यूडबाट बच्न मकैको सातु, अदुवा, लसुन, केही एन्टिबायोटिक औषधि र बाटोमा भोक मेट्न प्रशस्तै ड्राइफुड बोक्न भने यस क्षेत्रमा यात्रा गर्दा बिर्सनु हुँदैन ।

 

तस्बिर साैजन्य : सन्देश सुब्बा
 

अन्तिम अपडेट: चैत २९, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया