अंग्रेजी माध्यमबाट पढाइ हुने सामुदायिक विद्यालय : कतै मनपरी असुली, कतै निःशुल्क

 जेठ १८, २०७६ शनिबार १४:२:४६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - विराटनगर महानगरपालिका १२ की तनिसा श्रेष्ठ कक्षा ६ मा पढ्छिन्  । उनी यस अघि होलील्याण्ड बोर्डिङ स्कुलमा पढ्दै आएकी थिइन् । यस वर्षदेखि उनी कक्षा ६ मा भर्ना हुनको लागि जनपथ माध्यमिक विद्यालयमा आएकी हुन्  । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन हुन्छ भन्ने थाहा पाएर आएको उनले बताइन् । 
 
तनिसा बोर्डिङबाट सामुदायिक विद्यालयमा आएकी हुन् भने बाल माध्यमिक विद्यालयबाट आएकी सविताकुमारी यादव र गुरुकुलमा पढ्दै आएका सागर यादव पनि अंग्रेजी माध्यममा पढ्नका लागि जनपथ माध्यमिक विद्यालयमा भर्ना भएका छन् । 

जनपथ विद्यालयमा भर्ना हुन आउनेहरुमा धेरै बोर्डिङ स्कुलबाट आएकाहरु छन् भने केही अन्य सामुदायिक विद्यालय छाडेर आएका विद्यार्थीहरु छन् । तर जनपथ विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन्छ-हुन्न भन्ने जो कोहीले सहजै थाहा पाउँदैनन् । किनकि जनपथ माध्यमिक विद्यालय अहिलेसम्म कुनै सञ्चारमाध्यमको आँखामा नपरेका कारणा ओझेलमा छ । 
 
विसं २०६८-०६९ सालदेखि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको भए पनि अंग्रेजी माध्यममा पढाइ हुन्छ भनेर बिगुल नफुकिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले बताउनुभयो । विद्यालयले अहिलेसम्म अंग्रेजी माध्यमको नाममा विद्यार्थी र अभिभावसँग  एक रुपैयाँ पनि सेवा शुल्क नलिएको पराजुलीले दावी गर्नुभयो । 

यो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन थालेको सात वर्ष बितिसकेको छ । कक्षा सातसम्मको पढाइ अंग्रेजी माध्यमबाट नै भैरहेको छ । अंग्रेजी माध्यमबाट पढाइ हुने छिमेकी सामुदायिक विद्यालयहरुमा एउटै कक्षामा दुई खालको शिक्षा प्रदान भएको देखेका यहाँका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले आफ्नो विद्यालयमा भने एकरुपता कायम गरेका छन् । एकै खालको शिक्षा दिने भनेर कक्षा एकदेखि नै अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेर अहिले सात कक्षासम्म पुर्‍याइएको हो  ।

‘विद्यालयले हरेक वर्ष एउटा कक्षालाई अपग्रेड गरेर लैजाने योजना अनुसार अब अर्को वर्ष कक्षा आठसम्म अंग्रेजी माध्यम सञ्चालन गर्ने र अबको तीन वर्षभित्रमा विद्यालयमा अंग्रेजी माध्यमबाट मात्र पढाइ हुन्छ,’ प्रधानाध्यापक पराजुलीले भन्नुभयो । 

‘अहिले शिशु कक्षादेखि नै विद्यालयले अंग्रेजी माध्यम सुरु गरेको छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका र बिहान खायो साँझ के खाउँ भन्ने परिवारका बालबालिकालाई अंग्रेजी माध्यमबाट पढाउन सफल भएका छौँ ।’ 

दलित र सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयले अंग्रेजी माध्यम सुरु गरेपछि विद्यालय छाडेका बालबालिका पनि विद्यालय फर्काउन सफल भएको छ । कक्षा सातसम्म ६ सय ८३ जना बालबालिका अंग्रेजी माध्यमबाट पढिरहेका छन्  । विद्यालयमा अहिले  एक हजार तीन सय ४५ जना विद्यार्थी अध्ययन गरिरहेका शिक्षक रामनरेश साहले जानकारी दिनुभयो । 

 सामुदायिक विद्यालयमा नमुना काम

विद्यालयले अंग्रेजी माध्यमलाई बढाउँदै लगेको अवस्थामा आन्तरिक व्यवस्थापनको कामलाई पनि व्यव्स्थित गर्दै लगेको छ । विद्यालयले हरेक दिन कति विद्यार्थी कुन कक्षामा आए भनेर बाहिर राखिएको बोर्डमै सार्वजनिक गर्ने गरेको छ । कक्षा कोठाबाट बाहिरिने विद्यार्थीलाई पास सिस्टम, सरसफाइमा बाल क्लब सक्रिय रहेकोले हरेक कक्षाले फरक फरक दिन सरसफाइ गर्दै आएका छन् । 

त्यस्तै विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । दलित र सीमान्तकृत समुदायहरु जस्तैः मण्डल, पासवान, मेहता, सतार, डोम, मुसहर समुदायका धेरै बालबालिका यो विद्यालयमा अध्ययन गर्दै आइरहेको विद्यालयले जनाएको छ । 

सरकारी निकायको उपेक्षित व्यवहार

विराटनगर महानगरपालिकामा नमुनाको रुपमा  पठन पाठन गराउने विद्यालयलाई अनुदान दिने व्यवस्था गरिएको छ । तर जनपथ विद्यालयलाई सरकारी निकायले हेर्ने दृष्टिकोण भने उपेक्षापूर्ण देखिएको विद्यालयका कर्मचारी तथा शिक्षकको भनाइ छ । यस्तै प्रकृतिबाट सञ्चालित अन्य सामुदायिक विद्यालयहरुमा माविको पूर्ण  दरबन्दी आठ जना रहेको भए पनि यो विद्यालयमा चार जनाको मात्र दरबन्दी छ । 

दरबन्दीभन्दा कम शिक्षकका कारण पठन पाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक पराजुलीको भनाइ छ ।यस्तै प्रकृतिका सामुदायिक विद्यालयहरु पोखरिया, आदर्श, सत्यनारायणलगायतका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा पढाउँदा सेवा शुल्कको नाममा बर्सेनि १७ हजारभन्दा बढी रुपैयाँ लिँदै आएको भए पनि यो विद्यालयले भने एक रुपैयाँ पनि सेवा शुल्कको नाममा नलिएको विद्यालयको दावी छ । 

तर यो विद्यालयले सरकारी निकायबाट पाउनु पर्ने सेवा सुविधा पनि पाएको छैन । विराटनगर महानगरपालिका पूर्वाग्राही बन्दा विद्यालयले पाउने सुविधा पनि नपाएको विद्यालय व्यवस्थापन समितिका सदस्य देवेश्वर ठाकुरले आरोप लगाउनुभयो । सँगैका विद्यालयहरुले ३० देखि ५० लाख रुपैयाँसम्म अनुदान पाए पनि जनपथ माध्यमिक विद्यालयलाई उपेक्षा गरिएको उहाँको भनाइ छ ।  

पहिलो चरणमा पोखरिया, आदर्श र मिल्स माध्यामिक विद्यालयले प्राविधिक धारको रुपमा नमुना विद्यालय भनेर ५० लाख रुपैयाँसम्म पाए भने दोस्रो चरणमा गोग्राहा, राधाकृष्ण र सत्यनारायण माध्यामिक विद्यालयले नमुना विद्यालयको रुपमा रकम पाउँदा जनपथलाई भने वास्ता नगरिएको विद्यालय व्यवस्थापन समितिको गुनासो छ । 

अन्य विद्यालयलाई पहुँचको आधारमा नमुनामा पारेर रकम वितरण गरिएको जनपथ माविको आरोप छ । विसं २०६८ सालदेखि जोड दुई (प्लस टु) सञ्चालन गरेको जनपथ माविले कुनै निकायबाट उच्च माध्यामिक शिक्षा सञ्चालनमा पनि एक रुपैयाँ सहयोग नगरेको विद्यालय प्रशासनले जनाएको छ ।

असहजताका बीच सहजता खोज्दै

असहजताको बाबजुद गुणस्तरीय शिक्षा दिँदै आएको जनपथ सामुदायिक विद्यालयलाई चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले खानेपानीको लागि ५ लाख रुपैयाँ दिएको छ । महानगरपालिकाको तर्फबाट हरेक विद्यालयले पुस्तकालयको पाउने ६ लाख रुपैयाँ पनि प्राप्त गरेको छ । 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर-६ का सांसद लालबाबु पण्डितको निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट ४ कोठे भवन बनिने भएपछि विद्यालयले केही राहत पाएको जनाएको छ । तीन वटा बालविकास रहेको यस विद्यालयमा बाल विकास व्यवस्थापनको लागि महानगरले दुई लाख रुपैयाँ दिएको पराजुली बताउनुभयो । 

विद्यालयमा पठन पाठन गराउन आउने अधिकांश प्रावि शिक्षकहरु स्नातकाेत्तर गरेका कारण पनि विद्यालयलले निःशुल्क अंग्रेजी माध्यमबाट पढाउन सफल भएको विद्यालय प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया