जापानमा रोजगारी दिलाउने नाममा ठगी बढ्यो: महानिर्देशक भुसाल

 जेठ १९, २०७६ आइतबार १९:४८:० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - वैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले जापानमा रोजगारी दिलाउने नाममा ठगी भइरहेको बताउनु भएको छ ।

रिपाेर्टर्स क्लब नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले जापानमा रोजगारीका लागि भाषा र सिप अनिवार्य भएकाले बिचौलियाको प्रलोभनमा नपर्न आग्रह पनि गर्नुभयो । जापानी भाषा र सिपको परीक्षण जापानी संयन्त्रबाटै हुने र बजारमा खुलेका जापानी भाषा र सिप परीक्षण केन्द्रहरुको कुनै भूमिका नरहने भएकाले भ्रममा नपर्न महानिर्देशक भुसालले आग्रह गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीका नाममा हुने गरेका संस्थागत ठगी नियन्त्रणका लागि विशेष रणनीतिका साथमा विभागले कार्य अगाडि बढाएको बताउनु भयो ।

विभागमा ५ हजारभन्दा बढि मुद्धाहरु बाँकी रहेको भन्दै उहाँले वैदेशिक रोजगारीका नाममा पासपोर्ट होल्ड गर्ने जो कसैलाई पनि पक्राउ गर्ने र कानुन अनुसार कारबाही हुने बताउनु भयो ।

ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले नेपालबाट कोरियाले धेरै जनशक्ति लैजाने गरेको भन्दै निष्पक्ष रुपमा कोरिया सरकारले नै छनौट गर्ने गरेको बताउनु भयो । उहाँले कोरियाको लागि नाम निकालेकाहरुले सिष्टम अनुसार नै जान पाउने बताउनु भयो ।

श्रम तथा रोजगार कार्यालय बुटवलका निमित्त प्रमुख बालकृष्ण थापाले बुटवल कार्यालयलाई थप व्यवस्थित र सेवाग्राही मैत्री बनाउन प्रयत्नशील रहेको बताउनु भयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया