खोलामा डुबेर ज्यान गुमाएका विद्यार्थीका परिवारलाई ६ लाख

 जेठ २०, २०७६ सोमबार ८:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षिय एलिस बस्नेत र बिक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालय ६/६ लाख दिन सहमत भएको छ ।

प्रयाेगात्मक अध्ययनका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेकोबेला दुबै जनाकाे दहमा डुबेर ज्यान गएकाे थियाे ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको छलफलमा शिक्षालयका सञ्चालकले मृतक परिवारलाई ५/५ लाख राहत तथा १/१ लाख किरिया खर्च दिन सहमत भएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताउनुभयो ।

मृतक परिवारलाई तत्काल ५० हजार दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमती भएको पनि प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयाे । वार्ताका माध्यमबाट सहमती जुटेपछि सोमबार मृतकको पोष्टमार्टम गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ । सुरुमा डुबेका भट्टराईलाई जोगाउनेक्रममा बस्नेतले पनि ज्यान गुमाएको प्रहरी निरिक्षक केशव खड्काले बताउनुभयो । 

एलिसका मामा बिनोद बस्नेतका अनुसार छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालेसमेत मृतक विद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको छ ।

वडा कार्यालयका तर्फबाट पनि मृतक बिद्यार्थीको नाममा सामाजिक काम गरिने वडाध्यक्ष डिल्ली राईले बताउनुभयो । राहत माग गर्दै मृतक परिवारले आईतबार दिक्तेलमा नारा जुलुस निकालेका थियो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया