बुहारी बितेपछि छोरा कतारबाट फर्किए, काखकी नातिनीलाई के खुवाएर हुर्काउने ?

 जेठ २२, २०७६ बुधबार १५:७:५९

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

सर्लाही – कतार हिँड्ने बेला छोरा शिवशंकरले लक्ष्मीदेवी पासवानलाई भन्नुभएको थियो, ‘बुहारीको राम्रो हेरचाह गर्नु । म महिनैपिच्छे पैसा पठाउँछु, तपाईँ खर्चको चिन्ता नगर्नु ।’

गर्भवती बुहारी र घर व्यवहारको जिम्मा लक्ष्मीदेवीकै काँधमा छाडेर सर्लाही वरहथवा नगरपालिका १८ श्रीपुर कटानिकीका शिवशंकर २०७५ माघमा कमाउन परदेश लाग्नुभयो । छोरा परदेश लागे पनि घरमा नयाँ सदस्यको आगमन हुँदैछ भनेर सबै फुरुंग थिए । 

खुशीका सपना बुन्दै हुनुहुन्थ्यो लक्ष्मीदेवी । छोराले कतारबाट फोन गरिरहन्थे । पैसा पठाउँथे । खुशी हुनुहुन्थ्यो, शिवशंकर पनि । । 

तर सपनाको घर कतिबेला ढल्छ के थाहा र ! खुशीको प्रमुख कारण थिइन् बुहारी र जन्मने नयाँ सदस्य । तर बुहारी सुनिताले नै संसार छाडेपछि लक्ष्मीदेवीको सपना र खुशी पनि छिनभरमै सकियो । 

‘छोरालाई दिएको बचन पूरा गर्न सकिनँ’

छोराले बुहारी मात्र हैन, बुहारीसँगै गर्भमा रहेको बच्चाको पनि जिम्मेवारी आफ्नै काँधमा छाडेर परदेश लागेको छ भन्ने लाग्थ्यो लक्ष्मीदेवीलाई । ‘मैले बुहारीलाई गाह्रो काम लगाइनँ, बरु म आफैं गर्थें सबै काम, छोरो पनि कति खुशी थियो, तर के गर्नु हाम्रो खुशीमा दैवको आँखा लाग्यो,’ लक्ष्मीदेवीको आँखा रसायो । 

घरमा आमाले श्रीमतीको राम्रो हेरचाह गरेको भन्दै छोरा शिवशंकर पनि खुशी हुनुहुन्थ्यो । कतार पुगेको दुई महिनापछि ५० हजार रुपैयाँ पनि पठाउनुभएको थियो । लक्ष्मीदेवीले त्यो पैसा घरखर्चमा भन्दा पनि साहुको ऋण तिर्नुभयो । जसोतसो घरखर्चको जोहो आफैंले गर्नुभयो । अब ७० हजार रुपैयाँ ऋण बाँकी थियो ।

बुहारी सुत्केरी हुने महिना नजिकिदै थियो । भोलि के पर्छ, के थाहा र ! लक्ष्मीदेवीले खर्चको बारेमा श्रीमानसँग सल्लाह गर्नुभयो । परदेश गएको छोराले भर्खरै पैसा पठाएकाले आफैंले मिलाउने सल्लाह भयो । 

‘बुढाले ज्याला मजदुरी गरेर १० हजार जोगाउनुभएको रहेछ, त्यतिभए त गाउँको स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा खर्च पुग्छ भन्ने भयो,’ लक्ष्मीदेवी सुनाउनुहुन्छ । 

तर परिस्थिति सोचेभन्दा उल्टो भैदियोे । गाउँको स्वास्थ्य चौकीले अवस्था गम्भीर भएको भन्दै बाहिरको कुनै ठूलो अस्पताल लान सुझाव दिए । 

२०७५ चैत को कुरा हो यो । डाक्टरको कुराले आत्तिएकी लक्ष्मीदेवीले बुहारीको माइती भारतको सितामढीमा फोन गर्नुभयो । माइतीले उपचारका लागि पटना लाने सल्लाह गरे । ५० हजार रुपैयाँ ऋण लिनुभयो र उनीहरुकै सल्लाह अनुसार लक्ष्मीदेवीले बुहारी सुनितालाई पटना लैजानुभयो । 

‘डाक्टरले तत्काल अपरेशन गर्नपर्छ भने, त्यसका लागि ५० हजार भारु लाग्ने रहेछ, बुहारीको आफन्त र हामी मिलेर पैसाको जोहो गर्यौं र अपरेशन भयो,’ लक्ष्मीदेवी भन्नुहुन्छ, ‘अपरेशन त सफल भयो तर मैले छोरालाई दिएको बचन पूरा गर्न सकिनँ ।’

घर लैजाउ भनेको बुहारीको मृत्युको खबर 

अपरेशनपछि बुहारी र नातिनी दुवैको अवस्था राम्रो नै थियो । डाक्टरले दुई दिनपछि घर लान मिल्छ भनेका थिए । 

‘मैले मनमनै भगवान लाई धन्यवाद दिएँ, नातिनी जन्मिएको खबर छोरालाई पनि भनेँ, बुढोलाई एक लाख लिएर तुरुन्त पट्ना आउनु भनेको थिएँ, उहाँ पनि आइपुग्नुभएको थियो, तर के भयो के,’ लक्ष्मीदेवीको बोली रोकियो । 

डाक्टरले भोलिपल्ट १० बजे डिस्चार्ज गर्ने बताएका थिए । बुहारी र नातिनीलाई लिएर उनीहरु घर फर्किने तयारी गर्दै थिए । तर बिहान ९ बजेतिर सुनितालाई एक्कासी गाह्रो भयो । 

‘बुहारी रोएपछि डाक्टरले इमरजेन्सीमा लगे, पीर नगर्नु ठीक हुन्छ भनेका थिए, नातिनी चाहिँ मलाई दिएका थिए’ लक्ष्मीदेवी भक्कानिनुभयो ‘पेट पोल्यो भनेर रोएकी बुहारी त हामीलाई नै रुवाएर गइन्, के भयो थाहा छैन ।’

बुहारी र नातिनी लिएर घर फर्किने तयारी गरिरहेका लक्ष्मीदेवी र उहाँका श्रीमानका पाइला गह्रौं भए । त्यही गह्रौं पाइला चाल्दै नातिनी मात्रै लिएर फर्किए ।

श्रीमतीको मृत्युको खबर सुनेपछि तीन महिना नबित्दै छोरा शिवशंकर पनि कतारबाट फर्किए । 

नातिनीको पालनपोषणमा समस्या

श्रीमती सुनितालाई गुमाउनु पर्दाको पीडामा छन् शिवशंकर । उनीहरुको आफ्नो जग्गाजमिन छैन । सम्पतिको नाममा काम गरेर खाने दुई हातभन्दा शिवाय केही छैन । ६० वर्ष टेक्न थालेकी लक्ष्मीदेवीलाई नातिनी स्याहार्नु कि काममा जानु आपत आइलागेको छ । 

‘दिनरात सुत्न पाएको छैन, घरको काम गर्न पनि भ्याउँदिनँ, यो सानो नानीलाई खुवाउने ल्याक्टोजिन किन्ने पैसा पनि छैन कसरी बचाउँ यसलाई,’ काखमा रहेकी नातिनी हेर्दै लक्ष्मीदेवीले भन्नुभयो ।

महिनाको १० वटासम्म ल्याक्टोजिन चाहिन्छ लक्ष्मीदेवीको नातिनीलाई । तर कमाउन गएको छोरा फर्किएर शोकमा डुबेका छन् । आम्दानीको बाटो केही छैन । परिवार पहिलेदेखि नै ऋणमा डुबेको छ ।

लक्ष्मीदेवीलाई नातिनीका लागि ल्याक्टोजिन मात्रै कसैले सहयोग गरे पनि आफ्नो पेट त जसरी नि भर्थें भन्ने लाग्छ । 

भन्नुहुन्छ, ‘मेरी दुई महिनाकी नातिनीलाई सहयोग गर्नुहोस्, मैले उसलाई ल्याक्टोजिन किनेर खुवाउन सकेको छैन, उसलाई के खुवाएर बचाउँ ।’

अन्तिम अपडेट: कात्तिक ८, २०७६

तपाईको प्रतिक्रिया