सित्तैमा भाँचिएको पत्रकारको नाकको भाउ १० वर्षमा करोड रुपैयाँले बढ्यो !

 जेठ २५, २०७६ शनिबार ८:५७:२ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिले गैंडाको नाक अर्थात खाग महंगो थियो । नाक तान्न जंगलमा तस्करहरुको ताँती लाग्थ्यो । गैंडा जोगाउनै मुश्किल थियो । अहिले गैंडाको खागभन्दा पनि पत्रकारको नाक एकाएक महङ्गिन पुगेको छ ।

शेरबहादुर देउवाले कुनै बेला प्रचण्ड र बाबुरामको टाउकाको मोल ५० लाख रुपैयाँ राखिदिएका थिए । अहिले त इटहरीका मेयरसाबले एक पत्रकारको नाककै मोल १ करोड पुर्‍याइदिए । 

केही वर्षअघि पर्शुराम बस्नेतले पत्रकार खिलानाथ ढकालको नाकको डाँडी बिनापैसामा भाँचेका थिए । शेरबहादुर देउवा र पर्शुराम बस्नेतभन्दा इटहरीका मेयर साब धेरै नै उदार रहेछन् । शेयर बजारझैँ दिनदिनै ओरालो लागिराखेको पत्रकारको इज्जत कसरी जोगाउने भनेर महासंघ नै चिन्तामा परेका बेला मेयर साबले पत्रकारको नाकको भाउ एकैपल्ट करोडमा पुर्‍याइदिए । 

यो मेरो सानो र चिटिक्कको ज्यान नाकको भाउ बढेपछि सबैभन्दा खुशी छ । तौल गर्‍यो भने ५० किलो नपुग्ने मेरो ज्यान छ । यस्तो च्याखुरे ज्यानमा अडिएको नाककै डाँडीको भाउ मेयर साबले १ करोड पुर्‍याइदिए । यता सञ्चारमन्त्री गोकुल बाँस्कोटा बिनापैसा पत्रकारलाई हप्काउँदै थिए, उता मेयर साबले १ करोड जम्मा गर्ने घडेरी बिक्रीमै राखेको खुलासा गरे । 

मेयर साबको यो घोषणपछि मेरो नाक फुलेको फुल्यै छ । मजस्तै देशका धेरै पत्रकार नाक फुलाएर र नाक ठाडो पारेर गजक्क भएका छन् । तर केही नाकप्रेमी पत्रकार चाहिँ महंगो नाक कसरी जोगाउने भन्ने चिन्तामा छन् । कोही नाकको बिमा गर्न प्रिमियमको बन्दोबस्त गर्न थालेका छन् । कोही चाहिँ आफ्नो नाक कहाँसम्म ठोक्किँदो रहेछ भनेर नापजाँच गर्न डाक्टरको सम्पर्कमा पनि पुगेका छन् । 

बाहिरबाट सरसर्ती हेर्दा नाकको जम्मा तीनवटा काम । एक मुखको विकल्पमा सास लिने र फाल्ने, दुई सिँ गरेर सिंगान बगाउने र बगेको सिँगान सीँ गरेर माथि तान्ने । अनि तीन चश्मा अड्याउने । तर नाकको नालिबेली योभन्दा पनि धेरै छ ।

आफ्नो नाकको ख्यालै नगरी पत्रकारको नाक जोगाइदिन खोज्ने मेयर साबलाई त धन्यवाद पो दिनुपर्छ ।

चुच्चे नाक भएकाले मात्र होइन, थेप्चे नाक भएकाहरुले पनि नाक ठाडै पार्न खोज्छन् । नाक ठाडो भएको बेला नाक मात्रै देखिन्छ, त्योभन्दा मुन्तिर केही देखिँदैन । यस्तो बेला ठाडो नाकले सबैतिर छेक्ने हुँदा कहिलेकाहीँ मान्छेले आफू उभिएको ठाउँ पनि देख्दैन । अनि नाक ठाडो पारेर हिँड्ने मान्छे कहिले ठेस लागेर पछारिन्छ, कहिले अल्झिएर खँगारिन्छ । अनि ठाडो भएको नाक उतिखेरै सकिन्छ । केहीबेर अघिसम्म नाक ठाडो भयो भनेर गजक्क परेको मान्छे खिस्रिक्क हुन्छ । त्यसैले नाक जोगाएर हिँड्न गाह्रो छ ।

यो कुराले पनि प्रष्ट हुन्छ नाक सास र सिँगान तान्ने र फाल्ने तथा चश्मा अड्याउने जिनिस मात्र होइन । नाकसँग मान, प्रतिष्ठा र इज्जत जोडिएको हुन्छ । यो कुरा ख्याल नगर्दा कतिले नाक फालेका छन्, कतिको नाक काटिएको छ । कतिको नाकमा आची दलिएको छ, दाग लागेको छ । तै पनि फेरि तिनै मान्छे नाक फुलाएर हिँड्छन् ।

नाक आफ्नो अनुहारमा मात्र होइन, अरुसँग पनि जोडिन्छ । छोराछोरीको नाक बाआमासँग, बाआमाको नाक हजुरबा हजुरआमासँग, हजुरबा हजुरआमाको नाक अघिल्लो पुस्तासँग, परिवारको नाक छिमेकी र आफन्तसँग, कार्यकर्ताको नाक नेतासँग, नेताको नाक यता र त्यतासँग, सबैको नाक सबैसँग जोडिएको हुन्छ । 

छोराछोरीले नाक फाल्दा बाआमालाई अनुहार देखाएर हिँड्न गाह्रो हुन्छ । नेताको नाक काटिँदा कार्यकर्तालाई छटपटी हुन्छ । अनि 'खाई न पाई छाला टोपी लाई'को पारामा कसैले नाक फुलाएर हिँड्दा अर्कोलाई लाज हुन्छ । त्यसैले बेलैमा नाक नजोगाए आफ्नो मात्र होइन, अरुको पनि इज्जत जान्छ । नसुहाउने तरिकाले नाक फुलाएर हिँड्दा अर्कोले भाँचिदिन्छु मात्रै भन्दैन, उस्तै परे नाकको डाँडी नै भाँच्नसमेत बेर मान्दैन ।

अहिले मेयरसाबले नाक लोपर्न मात्र भ्याएका छन्, नाकको डाँडीमै हात पुर्‍याएका छैनन् । भाँच्छु मात्र भनेका छन्, भाँचीहाल्न भ्याएका छैनन् । चौथो अङ्गको महत्वपूर्ण त्यही अङ्ग नाक भाँच्छु भन्दा उनको आफ्नै नाक गुम्ने खतरा पनि त छँदैछ । तै पनि उनले आफ्नो नाकको ख्याल नगरी पत्रकारको नाक जोगाइदिन खोजेका हुन् ।

नाक भाँचियो भने पत्रकारले लगाउने चश्मा अड्याउने ठाउँ हुँदैन । चश्मा नलगाई हेर्दा आँखाले राम्रो देखिंदैन । समाचार भेटिँदैन । पत्रकारले समाचार देखेन र भेटेन भने नागरिकले कसरी सूचना र जानकारी थाहा पाउन सक्छन् ?

पत्रकारको नाक भाँचिनु भनेको चौथो अङ्गका सबै अङ्गले काम गर्न छाड्नु हो । पत्रकारको मात्रै होइन, देशकै बेइज्जत हुनु हो । नागरिकले सूचना र जानकारी पाउनबाट बञ्चित हुनु हो । त्यसैले कोही पत्रकार नाकको ख्याल नगरी बरालिएको छ भने नाक जोगाऊ भन्ने पनि मेयरको सन्देश हुन सक्छ । नत्र तिम्रै कारणले नाक ठोकिनुअघि तिम्रो नाक म आफै भाँचिदिन्छु र तिम्रो नाक फालिनुअघि म आफ्नै नाक फाल्छु भनेको पनि हुन सक्छ । 

आफ्नो नाकको ख्यालै नगरी पत्रकारको नाक जोगाइदिन खोज्ने मेयर साबलाई त धन्यवाद पो दिनुपर्छ । मेयरसाबलाई धन्यवाद दिँदै म त गैंडाको खागभन्दा महंगो नाक जोगाउनतिर लागेँ । तपाईं नि ?
 

अन्तिम अपडेट: चैत ११, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Madhusudhan

    June 9, 2019, 6:11 a.m.

    एउटा झोलामा पत्रकारको अफिस चलाएर नभएको कुरा लेख्ने, अनि सत्य तथ्य छुट्याउन नसक्ने हावाको भरमा समाचार सम्प्रेषण गराएर आफुलाई गौरब ठानेर अहंकार गर्ने पत्रकारलाई मेयरले त नाकको डांडी मात्र भाँच्न लगाउनुभएछ , म भए त .................

  •  0 Reply

तपाईको प्रतिक्रिया