सडक खन्न गएको एक्साभेटर नदीमै अड्कियो

 जेठ २६, २०७६ आइतबार ७:३०:१५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – चिलखाया बस्तीमा सडक खन्न तिला नदीबाट आउँदै गरेको एक्साभेटर नदीमै अड्किएको छ । पानीको बहाव बढेपछि बीच नदीमै एक्साभेटर अड्किएको एमडी कन्स्ट्रक्सनका प्रतिनिधि मनराज शाहीले जानकारी दिनुभयो । 

तिलागुफा नगरपालिका– ७ को भैँसीगौँडा पक्की पुल निर्माण लागि सिलान्याश भएको ५ वर्ष बित्यो । तर अझै पुल निमार्ण कार्य सम्पन्न हुन सकेको छैन । २०७२ को चैत महिनामा सम्झौता भएको पुल २०७५ चैतमा सम्पन्न गर्ने लक्ष्य थियो । 

पुल नबन्दा साविकको चिलखाया गाविसका स्थानीयले सास्ती खेप्नु परेको छ । छिटो पुल निर्माण कार्य सम्पन्न गर्न ठेकेदार र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाहीले बताउनुभयो ।

एलआर डीपीको लगानीमा पुल निर्माणको काम भैरहेको हो । पुलको दुवैतर्फ बिम हाल्ने कामबाहेक अरु कुनै पनि काम भएको छैन ।

पर्यटकीय क्षेत्र रुडुवन्चु जानेहरुका लागि यो सडक सरल र छोटो छ । पुल नहुँदा यहाँका स्थानीयले काठेपुलको जोखिम यात्रा गर्ने गरेका छन् । पुल नभएकै कारण पर्यटकीय क्षेत्र रुडुवन्चु आउने पर्यटकको संख्यामा कमी आएको वडा नं ९ का अध्यक्ष नरेन्द्र रोकाया बताउनुहुन्छ । 

पुल निर्माणको जिम्मा लिएको अमर कन्सट्रक्सन प्रालि, काठमाण्डौले बजेट अभावका कारण पुल बन्न नसकेको जानकारी दिएको छ । 

३ करोड ७८ लाखको लागतमा बन्ने यो पुलको अहिलेसम्म एक करोड ५० लाख मात्र भुक्तानी आएको ठेकेदार तारा शाहीले बताउनुभयो । २०७० सालको संविधान सभा चुनावमा नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फका उम्मेदवार युवा नेता भुपेन्द्रजंग शाहीले यो पुलको शिलान्याश गर्नु भएको थियो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया