कार्यकारी अध्यक्षको मनलाग्दी : नेपाल एअरलाइन्स फेरि ‘डुब्ने खतरा’

 जेठ २८, २०७६ मंगलबार २०:४:६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – यात्रु नपाएको भन्दै नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि हुने भनिएको जापान उडान स्थगित गरेको छ ।

१२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनायो । 

गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि स्थगित गरिएको निगमको दाबी छ । 

निगमले यात्रु नपाउने ठाउँमै उडान गर्न खोजेपछि यात्रु नपाउनु नयाँ कुरा थिएन, यो स्वभाविक नै थियो । कुनै पनि ठाउँमा उडानको योजना बनाउँदा त्यो ठाउँमा यात्रुको संख्या कति हुनसक्छ भनेर व्यापारिक योजना बनाउने गरिन्छ । तर नेपाल एअरलाइन्समा भने त्यस्तो भएन । मनग्य यात्रु पाउने टोकियो नजिकैको नारिता विमानस्थललाई चासो नदिइ यात्रु नपाउने ओसाकामा उडान गर्ने योजना बन्यो । र अन्तिममा १२ वर्षदेखि बन्द रहेको जापान उडान नै स्थगित भयो । 

धेरै नेपाली जापानको टोकियो नजिकै छन् । यदि नारिता विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान भएको भए यात्रुको खडेरी पर्दैनथ्याे । तर ७० किलोमिटर दूरीमा रहेको नारिता विमानस्थलमा उडान गर्न चासो नदिएर ५ सय ७ किलोमिटर टाढाको ओसाका शहरमा उडान गर्न निगम कस्सिएको थियो । 

‘हामीले कार्यकारी अध्यक्षलाई ओसाकामा उडान गर्दा यात्रुको अभाव हुन सक्छ भनेरै जानकारी गराएका थियौँ, तर उहाँले ओसाका उडान गरेरै छाड्ने ढिपी छाड्नुभएन, अहिले त क्यान्सिन नै गर्नुपर्‍यो’, निगमका एक कर्मचारीले उज्यालो अनलाइनसँग भने । 

सञ्चालक समितिलाई खबरै छैन

नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैठक नबसेको महिनाैँ भैसकेको छ । खासमा सञ्चालक समितिमा छलफल भएर उडानको तयारी गर्नुपर्ने थियो । तर कार्यकारी अध्यक्ष मदन खरेलले सञ्चालक समितिका सदस्यलाई पनि जानकारी नदिइ ओसाका उडान पक्का गरेको एक सदस्यले बताए । 

‘यस्ता कुरामा त सञ्चालक समितिलाई पनि सँगै राखेर निर्णय गर्नुपर्ने हो, तर सञ्चालक समितिलाई जापान उडान पक्का भएको पनि थाहा छैन, स्थगित भएको पनि थाहा छैन’, सञ्चालक समितिका एक सदस्यले भने, ‘निगमका कार्यकारी अध्यक्ष आफ्नै पारामा चलेका छन्, यस्तै पारा हो भने निगम डुब्न धेरै समय लाग्दैन ।’

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल

निगमले जापान उडान गर्ने विषयमा तालुकदार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पनि खबर गरेन । जापान उडानको तालिका आफूहरुले सञ्चारमाध्यमबाट माध्यममार्फत थाहा पाएको मन्त्रालयका एक उच्च पदस्थ कर्मचारीले बताए । 

‘हामी तालुकदार निकाय हौँ, कम सेकम खबर त हुनुपथ्र्यो, तर कुनै पनि विषयमा खबर भएको छैन, कार्यकारी अध्यक्षले मनलाग्दी गरेको देखियो, यसरी त निगमको ५० अर्ब रुपैयाँको सम्पत्ति नै जोखिममा पर्न सक्छ’, ती कर्मचारीले भने ।

तर निगमको ओसाका उडानबारे मन्त्रालय र सञ्चालक समितिलाई जानकारी गराइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाको दाबी छ ।

मन्त्री नहुँदा काममा ढिलाइ, कर्मचारीलाई दु:ख

गएको फागनु १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुघर्टनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको ज्यान गएपछि मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ । प्रधानमन्त्रीलाई निगमको बारेमा सोच्ने फुर्सद नै छैन । 

मन्त्री नै नभएपछि नेपाल वायुसेवा निगमका समस्या सुन्ने र समाधानको पहल गर्ने व्यक्ति नै नै नभएजस्तो भएको छ । 

‘प्रधानमन्त्री अहिलेको पर्यटनमन्त्री पनि हुनुहुन्छ, उहाँलाई निगमको बारेमा कुनै कुराको प्रस्ताव लिएर गयो भने राति ११ बजेसम्म कुनुपर्ने हुन्छ, त्यही पनि कहिलेकाँही त भेट्नै नपाइ फर्कनुपर्ने बाध्यता छ, मन्त्री नहुँदा सबै कुरा लथालिङ्ग भएको छ’, एक कर्मचारीले भने । 

मन्त्री नहुँदा तारागाउँ रिजेन्सी, नेपाल भ्रमण वर्ष २०२०, नेपाल नागरिक उडड्यन प्राधिकरण टुक्राउने  विषय, नेपाल वायुसेवा निगमलगायतका विषयका योजना बनाउन र निर्णय गर्न पनि नसकिएको मन्त्रालयले जनाएको छ । 

‘नियमित काम भैरहेको छ, ठूला निर्णय केही गर्न सक्ने अवस्था छैन, मन्त्रालय र माताहतका निकायले मन्त्री नहुँदा काम गर्न नसकिने भन्दै आएका छन्’, ती कर्मचारीले भने ।

अन्तिम अपडेट: चैत १६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया