गाउँपालिकाकै उत्कृष्ट विद्यालय : जहाँ विद्यार्थी आफैले आफ्नाे हाजिर गर्छन्

 जेठ ३१, २०७६ शुक्रबार १५:२३:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – हिमा गाउँपालिका-१ देवारगाउँमा रहेको कालिका आधारभूत विद्यालय गाउँपालिकाकै उत्कृष्ट विद्यालय भएको छ । 

शैक्षिक आधारभूत व्यवस्थापनदेखि अध्यापनको मूल्यांकन गर्दै गाउँपालिकाले कालिका आधारभूत विद्यालयलाई उत्कृष्ट ठहर गर्दै चार लाख रुपैयाँसहित पुरस्कृत समेत गरेको छ ।  

हिमा गाउँपालिकामा रहेका २० वटा विद्यालयमध्ये कालिकाले शिक्षा क्षेत्रमा नमुना र उत्कृष्ट काम गरेको भन्दै नगद पुस्कारसहित पुरस्कृत गरिएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार, राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विद्यालयलाई कारवाही गर्ने नीति लिइएको छ । 

विद्यालयले दिने शिक्षा र व्यवस्थापन हेरेर सरोकारवाला निकायहरुको बैठकले कालिका आधारभूत विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिका प्रमुख रजबहादुर शाहीले जानकारी दिनुभयो । ‘कालिका गाउँपालिकाका २० विद्यालय र एक आवासीय विद्यालयलाई व्यवस्थित र चुस्त बनाउन गाउँपालिकाले अभियान थालेको छ,’ उहाँले भन्नुभयो । 

कालिका आाधारभूत विद्यालयमा कम जनशक्ति भए पनि विद्यालय प्रशासन व्यवस्थित भएका कारण शैक्षिक अवस्था राम्रो देखिएको गाउँपालिकाले जनाएको छ । विद्यालयको चिटिक्क कक्षा कोठा, भित्तामा विभिन्न शैक्षिक सूचनामूलक सन्देश, बालमैत्री कक्षाकोठा, बालमैत्री तथा अपाङ्गमैत्री शौचालयदेखि अन्य क्षेत्रमा राम्रो व्यवस्थापन गरेको छ ।

यसैगरी विद्यालयले गरिब, विपन्न र अनाथ बालबालिकाका लागि आवासीय विद्यालय समेत सुरु गरिएको बताएको छ । 

विद्यार्थी आफैले आफ्नो हाजिर गर्छन् 

बिहान विद्यार्थीहरु आउने बित्तिकै कक्षा कोठामा आफै हाजिर गर्ने गर्दछन् । रातो र नीलो गोटी झुण्डाइएको स्थानमा रोल नम्बरसमेत अंकित गरिएको छ । विद्यार्थी उपस्थित भएमा नीलो रंग र अनुपस्थित भएका रातो रंगले जनाइन्छ । 

प्रधानाध्यापक दीपबहादुर शाही भन्नुहुन्छ, ‘हामीले सानो स्रोतमा पनि शिक्षामा गुणस्तर कायम गर्ने प्रयास गरेका छौँ । हाम्रो कामको मूल्यांकन गरेर स्थानीय सरकारले प्रोत्साहन गरेकोमा विद्यालय परिवार खुशी छ । आगामी दिनमा झन् सक्रिय हुनेछौँ ।’

‘अहिले कक्षा एकदेखि पाँच र र ईसीडी (पूर्व बाल विकास कार्यक्रमका विद्यार्थीहरु) गरी एक सय ५२ जना विद्यार्थीहरु छन्,’ उहाँले भन्नुभयो ।  तीन जना शिक्षक दरबन्दीमा, एक जना करारमा र एक जना निजी स्रोतबाट राखिएको प्रधानाध्यापक शाहीले जानकारी दिनुभयो । 

कक्षा कोठा भने पाँच वटा मात्रै भएकाले दुई वटा कक्षा एउटै कोठामा राख्नुपर्ने बाध्यता छ । यसैगरी घेरबार गर्न बाँकी रहेको र यसका लागि बजेट नभएको प्रधानाध्यापक शाहीले बताउनुभयो । 

‘विभिन्न भित्ते लेखन, गोटी प्रणाली हाजिरी, सफा कक्षा कोठाले पढ्ने वातावरण राम्रो भएको छ’, कक्षा पाँचमा अध्ययनरत विद्यार्थी प्रमिला रोकायाले भन्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया