सगरमाथा मापनका क्रममा नाम जोडेर अनावश्यक प्रचार गरियो: मन्त्री अर्याल

 जेठ ३२, २०७६ शनिबार २१:१२:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथा मापनका क्रममा ५० लाखमा आफ्नो नाम जोडेर अनावश्यक प्रचार गरिएको बताउनु भएको छ ।

मन्त्री अर्यालले भन्नुभयो, ‘सगरमाथाको उचाइ मापन टोलीलाई बिदाई गर्न, हौसला बढाउन आधार शिविर पुग्दा भएको खर्चलाई लिएर अनर्गल प्रचार गर्नु गलत हो’, उहाँले थप्नुभयो, ‘५० लाख होईन ११ करोडको लगानीमा सगरमाथाको वास्तविक उचाइ मापनका लागि सरकार लागेको हो ।’

आँफूसँग जोडिएको समाचार सत्य नभएको भन्दै अर्यालले भन्नुभयो, ‘स्वर्ग जस्तै ठाउँमा पुग्दा फोटो र सेल्फी खिच्नु त स्वभाविक होईन र ?’

नेपाल कम्युनिष्ट पार्टी वालिङ नगरकमिटिले आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा मन्त्री अर्यालले सिद्धार्थ राजमार्ग अन्तरगत धेरैको ज्यान लिएको सिद्धबाबा सडकमा सुरुङमार्गका लागि डीपीआर तयार गरिएको बताउँदै सरकारले समग्र सिद्धार्थ राजमार्गको स्तर उन्नति गर्ने योजना अनुसार अगाडि बढेको जानकारी दिनुभयाे । उहाँले त्रिदेशीय सिमाना जाेडिएको सिद्धार्थ राजमार्ग विकासको महत्वपूर्ण मेरुदण्ड भएको स्पष्ट पार्नुभयो ।

लुम्बिनी र पोखरा आएका पर्यटकलाई स्याङ्जा हुँदै आवतजावत गराउन सकिए जिल्लाका होमस्टे, प्याराग्लाइडिङ, जलयात्रा अन्य पर्यटकीय स्थलहरुलाई पर्यटकको रोजाइ बनाउन सकिने बताउँदै मन्त्री अर्यालले आँधीखोला हाइड्याम उच्च प्राथामिकतामा रहेको बताउनुभयो ।

उहाँले ६ जिल्लामा १५-१५ शय्याको अस्पताल बन्ने र १५ बाट विस्तारै ५०-१०० शय्यासम्म पुर्या‍उन सकिने बताउनुभयो । स्याङ्जा पर्यटकीय क्षेत्र स्वरेक मैदान, सतिवेणी, अकला, गह्रौँसुर, सतौँचण्डकी प्राथामिकतामा रहेकोे भन्दै स्वास्थ्य, बीमा, गरिब पहिचान, राष्ट्रिय पचिय वितरणमा स्याङ्जासमेत समेटिनु सकरात्मक पक्ष भएको र एक पालिका एक प्राविधिक शिक्षालय हुने पनि जानकारी गराउनुभयो ।

कृषि विना सरकारको समृद्धिको लक्ष्य पूरा हुन नसक्ने भन्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । कृषि उपजलाई भण्डारणका लागि जिल्लामा शीतभण्डार निर्माणाधिन अवस्थामा रहेको मन्त्री अर्यालको भनाइ थियाे । 

 

 

अन्तिम अपडेट: चैत २६, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया