प्रदेश ३ काे बजेट ४७ अर्ब ६० करोड

सुरुङमार्ग, चक्रपथ, विश्वबिद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्राथमिकता

 असार १, २०७६ आइतबार १९:४३:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ सरकारले आउँदो आर्थिक वर्ष २०७६–०७७ का लागि ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

कुल बजेटमध्ये ५१ दशमलव ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ भने पूँजीगत खर्चतर्फ भने ४७ दशमलव ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थमन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो ।

वित्तीय व्यवस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले ल्याएको अधिकांश नीति तथा कार्यक्रमलाई बजेटमा समेटिएको छ । धेरै जसो सरकारले नीति तथा कार्यक्रमलाई बजेटमा समेटेन भन्ने आलेचना भइरहेको बेलामा प्रदेश ३ सरकारले भने नीति तथा कार्यक्रममा समेटिएका विषयमा जोड दिदै आजको बजेट ल्याएको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । 

प्रदेश ३ का महत्वपूर्ण गौरवका योजनाहरु 

प्रदेश सरकारले प्रदेश गौरवका योजनाहरुलाई धेरै रकम छुट्याएर काम गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षका लागि ल्याइएको प्रदेश गौरवका योजना र फेरि थप गरेर गौरवका योजना ल्याइएको छ । प्रदेश सरकारले हेटौंडा–भिमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्गा निर्माण गर्ने भएको छ ।

त्यसैगरी प्रदेशका १३ वटै जिल्लालाई जोड्नका लागि पुस्पलाल चक्रपथ निर्माण गरिने भएको छ । प्रदेश सरकारको गौरवका योजनाका रुपमा मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने मन्त्री ढुङ्गेलले बताउनुभयो । हेटौंडा अस्पताललाई ३ सय शय्याकाे बनाउनका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । यसैगरी प्रदेश सरकारको गौरवको योजनाका रुपमा प्रदेश विश्वविद्यालय पनि निर्माण गरिनेछ । 

प्रदेश सरकारको आफ्नै औद्योगिक क्षेत्र

प्रदेश नम्बर ३ को सरकारले प्रदेश स्तरको आफ्नै औद्योगिक क्षेत्र निर्माण गर्नका लागि बजेट छुट्याएको छ । प्रदेश सरकारले दुई जिल्लामा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि बजेट छुट्याएको हो । सरकारले सिन्धुलीको मरिन र मकवानपुरको मनहरीमा नयाँ प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्न लागेको हो ।

औद्योगिक क्षेत्रका लागि बजेटसमेत छुट्याएर काम गर्न लागिएको हो । संघीय सरकारले औद्योगिक क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण नगरेपछि प्रदेश सरकारले आफ्नै औद्योगिक क्षेत्र निर्माणमा बजेट छुट्याएको हो । 

विद्युतीय बसमा अनुदानको व्यवस्था 

प्रदेश नम्बर ३ सरकारले सार्वजनिक विद्युतीय बस सञ्चान गर्नेलाई अनुदानको व्यवस्था गर्ने भएको छ । चालु आर्थिक वर्षमा पनि साझा सहकारीसँगको सहकार्यमा ३० करोड लगानीमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया