विश्वकप क्रिकेट : बंगलादेश र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा, दुवै टोली लय भेट्टाउने प्रयासमा

 असार २, २०७६ सोमबार ९:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकप अन्तर्गत सोमबार इंग्ल्याण्डको टाउनटनमा बंगलादेश र वेष्ट इण्डिज आमने सामने हुँदा दुवै टोली आफ्नो लय भेट्टाउने प्रयासमा हुनेछन् । दुवैले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेका थिए, तर त्यसयता लगातार हारिरहेका छन् ।

दुवै टोलीले ४ खेलबाट ३ अंकमात्र जोडेका छन् । सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना कायम राख्न दुवैलाई जितको विकल्प छैन ।

बंगलादेशको बलिङ आक्रमण यो विश्वकपमा प्रभावकारी देखिएको छैन । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरे पनि बाँकी खेलमा बलरहरु दवाबमा देखिएका छन् ।

ब्याटिङ पक्ष भने मुख्यतः सकिव अल हसनकै आसपास देखिन्छ । जो ब्याटिङ क्रम सुधार गरी तेस्रो नम्बरमा आएका थिए । इंग्ल्याण्डबिरुद्ध शतकका बाबजुद टिम पराजित भएको थियो ।

वेष्ट इण्डिजबिरुद्धको जितका लागि बंगलादेशले सबै क्षेत्रमा सुधारिएको प्रदर्शन गर्नुपर्छ । प्रतियोगितामै कमजोरमध्येको एक मानिएको बंगलादेशका लागि यो खेल आफ्नो क्षमता देखाउने अवसर पनि हो । 

वेष्ट इण्डिजको बलिङ आक्रमण यो विश्वकपकै शशक्त मानिन्छ । तर, उसको ब्याटिङ अहिलेसम्म त्यस्तो देख्न पाइएको छैन जसको अपेक्षा गरिएको छ ।

इंग्ल्याण्डविरुद्धको पछिल्लो खेलमा ३० ओभरमा १४४/४ को अवस्थामा रहेको वेष्ट इण्डिज ४५ ओभरमा २१२ रनमा समेटिएको थियो । यसबाट के प्रष्ट हुन्छ भने उसका ब्याट्सम्यानहरुले लय लिन सकिरहेका छैनन् ।

वेष्ट इण्डिज टिम ओपनिङ बलर सेल्डन कोट्रेल र हार्ड हिटर आन्द्रे रसेलको चोटका कारण पनि चिन्तित छ । यी दुईले पछिल्लो खेलमा ५ ओभरमात्र बलिङ गर्न सकेका थिए ।

टाउनटनको मौसम बिहान घाम लाग्ने र दिउँसो बदली हुने अनुमान गरिएको छ । सानो मैदानमा धेरै रन बन्ने अनुमान गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया